कास्की-१ मा चुनावी तनाव: एमाले उम्मेदवारका दुई गाडी तोडफोड, कांग्रेसद्धारा छानबिनको माग

Share:

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोलका बीच नेकपा एमालेका उम्मेदवारले प्रयोग गरेका दुई वटा सवारीसाधन तोडफोड गरिएको घटना सार्वजनिक भएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर १ का उम्मेदवार बैन बहादुर क्षेत्री को चुनावी अभियानमा प्रयोग हुँदै आएका बा ९ च ८९२८ नम्बरको फर्चुनर र ग ४ प १०१५ नम्बरको हाइलेण्डर गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्‍याइएको हो।

घटना मादी गाउँपालिका-११, उपल्लो साप्लेमा भएको बताइएको छ। एमाले मादी गाउँपालिका अध्यक्ष सुवास सापकोटा का अनुसार चुनावी कार्यक्रम सञ्चालन भइरहेका बेला पार्किङमा राखिएका गाडीमा अचानक ढुंगा प्रहार गरिएको थियो। ढुंगा लागेर गाडीका सिसा फुटेका छन्।

सापकोटाले नेपाली कांग्रेस निकट रिदम गुरुङ नेतृत्वको टोली र तरुण दलका कार्यकर्ताले योजनाबद्ध रूपमा आक्रमण गरेको आरोप लगाएका छन्। एमालेले घटनाको कडा विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।

यसैबीच नेपाली कांग्रेस कास्कीले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस कास्कीका सभापति किशोदत्त वराल द्वारा हस्ताक्षरित विज्ञप्तिमा कुनै पनि राजनीतिक दलको कार्यक्रमस्थल वा सम्पत्तिमाथि आक्रमण हुनु दुःखद र निन्दनीय विषय भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी सत्य-तथ्य सार्वजनिक गर्न माग गरिएको छ। साथै, यदि पार्टीसँग आबद्ध कुनै व्यक्ति संलग्न पाइएमा आवश्यक अनुशासनात्मक कारबाही गरिने स्पष्ट पारिएको छ।

“निर्वाचन लोकतन्त्रको पर्व भएकाले यसलाई शान्तिपूर्ण, मर्यादित र मूल्यमा आधारित बनाउन सबै राजनीतिक शक्ति र कार्यकर्ता जिम्मेवार बन्न आवश्यक छ,” कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ।

घटनाले कास्की-१ को चुनावी माहोललाई तातेको बनाएको छ भने दुवै दलले आ-आफ्नो अडान सार्वजनिक गर्दै राजनीतिक वातावरण शान्त र संयमित राख्न आह्वान गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: