
पोखरा । नेपाली कांग्रेस कास्कीले भोलि फागुन १५ गते पोखराको अमरसिंहचौर मा आयोजना गर्ने बृहत् आमसभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आमसभा आयोजना गरिएको कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नविन सिग्देलले जानकारी दिए। उनका अनुसार आमसभा कांग्रेसको चुनावी अभियानको मुख्य आकर्षणका रूपमा रहनेछ।
आमसभालाई कांग्रेसका केन्द्रीय सभापति गगन थापा तथा उपसभापति विश्वप्रकाश शर्माले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालका अनुसार ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने दृढ संकल्पका साथ आयोजना हुन लागेको आमसभामार्फत बदलिएको कांग्रेसको स्पष्ट विचार, नीति, कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइनेछ।
सभापति बरालले बदलिएको कांग्रेस विधि र संस्थागत प्रणालीलाई प्राथमिकता दिने, सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई व्यवहारमा लागू गर्ने, युवाशक्ति, उद्यमशीलता र रोजगारी सिर्जनालाई केन्द्रमा राख्ने तथा लोकतन्त्रको रक्षा गर्दै आर्थिक समृद्धिको ठोस मार्गचित्र प्रस्तुत गर्ने पार्टीका रूपमा अघि बढेको बताए।
चुनावी सभा व्यवस्थापन समितिका संयोजक एवं कांग्रेसका महासमिति सदस्य दीपक गुरुङ माईला ले सभामा १५ हजारभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहने दाबी गरे।
पोखराको राजनीतिक तापक्रम बढिरहेका बेला आयोजना हुन लागेको यो आमसभालाई कांग्रेसले शक्ति प्रदर्शन तथा चुनावी सन्देश प्रवाहको महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

