हेमजाका विपन्न विद्यार्थीलाई एनआरएन जापानको साथ, ३३ हजारका शैक्षिक सामग्री वितरण

Share:

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको विशेष सहयोगमा पोखरा महानगरपालिका-२५ हेमजाका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी ३३ हजार रुपैयाँ बराबरका स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

वडा नं. २५ कार्यालय हेमजाको आयोजना र वडा शिक्षा समिति पोखरा-२५ को व्यवस्थापनमा सम्पन्न कार्यक्रममा कापी, कलम, झोला लगायतका आवश्यक सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनका पूर्व अध्यक्ष एवं संरक्षक शिवप्रसाद पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षालाई सहज बनाउन करिब ३ लाख ४० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको जानकारी दिए।

उनले उक्त कोषमार्फत आवश्यक विद्यार्थीलाई निरन्तर सहयोग पुर्‍याइने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा क्षेत्रमा गरिएको लगानी नै दीर्घकालीन सामाजिक रूपान्तरणको आधार हुने धारणा राखे। वडा नं. २५ हेमजाका अध्यक्ष मोतीलाल तिम्सिनाले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै यस्तो पहलले विद्यार्थीको भविष्य निर्माणमा ठोस टेवा पुग्ने विश्वास व्यक्त गरे।

स्थानीय तह, शिक्षा समिति र प्रवासी नेपालीबीचको सहकार्यले हेमजाको शैक्षिक गुणस्तर अझ मजबुत बन्दै जाने उनले बताए।कार्यक्रममा गौरीशङ्कर माविका प्राचार्य अम्बरबहादुर कँवर, विष्णुपादुका माविका प्राचार्य दीपक पौडेल, गौरीशङ्कर क्याम्पसका पूर्व प्रमुख कृष्णप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वडा अध्यक्ष तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य तारा विश्वकर्माले स्वागत मन्तव्य राखे भने सञ्चालन वडा सदस्य कृष्णबहादुर कँवरले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: