
पोखरा । लिटिल फ्लावर एजुकेशनल सेकेन्डरी स्कूल पोखरा महानगरपालिका-२७ रिठेपानीमा कक्षा ११ र १२ का लागि छुट्टै नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ।
त्रिदिवसीय वार्षिक शैक्षिक कार्यक्रमअन्तर्गत शुक्रबार आयोजित विशेष समारोहमा वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले भवनको शिलान्यास गरेका हुन्। विद्यालयका प्रिन्सिपल बिकल पौडेलका अनुसार १ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनमा अत्याधुनिक प्रविधि जडित ११ वटा कक्षाकोठा रहनेछन्।
विद्यालय सञ्चालक कार्यवाहक अध्यक्ष तेज्यू गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलकसिंह गुरुङ लगायत पदाधिकारी, शिक्षक तथा कर्मचारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा कक्षा ११–१२ संयोजक विष्णुहरि पौडेलले शिलान्यास प्रक्रिया अघि बढाएका थिए।
विद्यालयमा जारी वार्षिक शैक्षिक कार्यक्रमअन्तर्गत बाल प्रतिभा पहिचान कार्यक्रम पनि उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ। भाषणकला तथा कविता प्रतियोगिता, गायन, नृत्य, नाटकसँगै अप्रतियोगी चित्रकला र विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको छ।
शनिबार शैक्षिक तथा खेलकुदतर्फ उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्दै कार्यक्रम समापन गरिने विद्यालय प्रशासनले जनाएको छ। नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालन हुँदै आएको विद्यालयमा हाल करिब ७०० विद्यार्थी अध्ययनरत छन्, जसमध्ये कक्षा ११ र १२ मा ७० विद्यार्थी रहेका छन्।
