
पोखरा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई ‘पोर्टेबल अक्सिजन क्यान’ तथा लेक लाग्ने (अल्टिच्युड सिकनेस) औषधिको व्यवस्था गरिने भएको छ ।
प्रदेश निर्वाचन कार्यालय पोखराले म्याग्दी, गोरखा, मनाङ र मुस्ताङका ३ हजार मिटरभन्दा माथिल्लो उचाइमा रहेका मतदान केन्द्रमा खटिने टोलीका लागि स्वास्थ्य सुरक्षाको प्रबन्ध गरेको हो । कार्यालय प्रमुख नारायण ढकालका अनुसार मतदानस्थलसम्म पुग्न र सहज रूपमा काम गर्न कर्मचारीलाई गाह्रो नहोस् भनेर अक्सिजन र औषधिको व्यवस्था मिलाइएको हो ।
प्रदेशमा ३ हजार मिटरभन्दा माथि ५४ वटा मतदान केन्द्र छन् । जसमा मुस्ताङमा २४, गोरखामा १५, मनाङमा १४ र म्याग्दीमा एउटा केन्द्र पर्छन् । ती क्षेत्रमा मतपेटिका पठाउने काम सुरु भइसकेको प्रमुख ढकालले जानकारी दिए ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङ्ता गाउँ र मनाङको नार्पाभूमि गाउँपालिकाको नार र फु गाउँमा हिमपातका कारण मतदान केन्द्र सार्नुपर्ने चर्चा चले पनि अन्ततः सोही स्थानमै मतदान हुने भएको छ ।
‘अहिले मौसम न्यानो हुँदै आएको छ । बाटो खुलाएर सम्बन्धित मतदान केन्द्रमै मतदान गर्ने सहमति भएको छ,’ प्रमुख ढकालले भने । ती क्षेत्रमा अहिले मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।
गण्डकी प्रदेशमा आसन्न निर्वाचनका लागि १८ लाख ७० हजार ६५ मतदाता कायम भएका छन् । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार पुरुषभन्दा महिला मतदाताको संख्या बढी छ । प्रदेशमा ९ लाख ५५ हजार ५१६ महिला र ९ लाख १४ हजार ५३५ पुरुष मतदाता छन् ।
प्रदेशभर १ हजार २९९ मतदानस्थल र २ हजार ३९६ मतदान केन्द्र निर्धारण गरिएको छ । गण्डकीका १८ निर्वाचन क्षेत्रमा ३० जना स्वतन्त्रसहित कुल २३४ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा २०५ पुरुष र २९ महिला उम्मेदवार छन् । सबैभन्दा बढी १८ दलले कास्कीमा र सबैभन्दा कम ३ दलले मनाङमा उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि जनशक्ति व्यवस्थापन, कर्मचारी खटनपटन, मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम सम्पन्न भई कर्मचारीहरू कार्यक्षेत्रमा जान तयार रहेको कार्यालयले जनाएको छ ।
