
पोखरा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि नेपाल-चीन उत्तरी कोरलानाका तीन दिन बन्द हुने भएको छ । निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न चीनसँग सिमाना जोडिएको कोरलानाका बन्द गर्ने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीद्वारा प्रेषित सूचना अनुसार यही फागुन २१ गते हुने निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म लागू हुने गरी (नेपाल-चीन) उत्तरी कोरलानाका पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको जनाइएको छ ।
निर्वाचन कार्यक्रमलाई सुरक्षा दृष्टिकोणले प्रभावित पार्न सक्ने, सीमाक्षेत्रबाट घुसपैठ तथा अवान्छित गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङले निर्वाचन केन्द्रित ७२ घण्टा कोरलास्थित सीमानाका पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले जानकारी दिए ।
यसैगरी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको एकीकृत सुरक्षा युनिटले सीमाक्षेत्रमा निरन्तर गस्ती गरिरहेका छन् । यसैगरी माथिल्लो मुस्ताङ क्षेत्रमा निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीलाई त्यसतर्फ पठाएको छ ।
यसैगरी फागुन २१ गते निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि शुक्रबार राति (आजै) देखि लागू हुने गरी फागुन २१ गते बिहीबार मतदान कार्य सम्पन्न नहुँदासम्म मुस्ताङ जिल्लाभर मादक पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासनले निर्वाचन सुरक्षाका लागि मादक पदार्थ बिक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाएकाले जिल्लाका सबै व्यवसायी, वितरक एवं आम सर्वसाधारणले नियमको पूर्ण पालना गर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले जानकारी दिए ।
