
पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कास्कीमा रात्रिकालीन व्यवसायमा कडाइ गरिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कास्की ले फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्म राति ९ बजेपछि सबै प्रकारका रात्रिकालीन व्यवसाय बन्द गर्न निर्देशन दिएको हो।
फागुन १५ गते सार्वजनिक सूचना जारी गर्दै प्रशासनले जिल्लाभित्र सञ्चालन हुने होटल, रेस्टुरेन्ट, मदिरा पसल, क्लब, दोहोरी साँझ, डान्स बार, स्पा सेन्टरलगायत सम्पूर्ण रात्रिकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न र त्यसपछि पूर्ण रूपमा बन्द गर्न आग्रह गरेको छ।
प्रशासनका अनुसार निर्वाचन अवधिभर सार्वजनिक शान्ति-सुरक्षा, सामाजिक सद्भाव र भयरहित वातावरण कायम राख्न यस्तो निर्णय लिइएको हो। सुरक्षा निकायबाट सूक्ष्म अनुगमन र निगरानीसमेत गरिने जनाइएको छ।
सूचनाको अवज्ञा वा उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिँदै प्रशासनले सम्पूर्ण व्यवसायी र सर्वसाधारणसँग पूर्ण सहयोगको अपिल गरेको छ।
