
पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी रहँदा कास्कीका उम्मेदवारहरू निर्वाचन खर्च पारदर्शी बनाउन अनिवार्य गरिएको बैंक खाता खोल्नै आनाकानी गरेको पाइएको छ। ४९ जना उम्मेदवारमध्ये ४२ जनाले मात्र आफ्नै नाममा छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन्।
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले खर्चको सम्पूर्ण कारोबार आफ्नै नामको छुट्टै बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था छ। तर ७ जना उम्मेदवार अझै खाता सञ्चालनमा ल्याउन सकेका छैनन्।
प्रमुख कोष नियन्त्रक तथा अनुगमन अधिकृत रमेश अर्यालका अनुसार ४५ जनाले सिफारिस लगे पनि कर्जा सूचना केन्द्रको ‘कालोसूची’मा परेका कारण २ जनाको खाता खुल्न सकेन। एक जना उम्मेदवारको नागरिकताको विवरण नमिलेकाले खाता खोल्न समस्या आएको छ। बाँकी ४ जना उम्मेदवारले भने पार्टीकै खाताबाट कारोबार गर्ने जिकिर गर्दै आयोगको निर्देशन अटेर गरेका छन्।
खाता नखोल्ने उम्मेदवारमाथि के कस्तो कारबाही गर्ने भन्नेबारे निर्वाचन आयोग ले स्पष्ट कार्यविधि तय नगरेको बताइएको छ।यसैबीच प्रदेश निर्वाचन कार्यालय पोखरा ले गण्डकी प्रदेशको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रदेश निर्वाचन अधिकारी नारायण ढकालका अनुसार गण्डकीमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्। जसमध्ये ९ लाख ५५ हजार २५१ पुरुष, ९ लाख १४ हजार ८०० महिला र १४ जना अन्य मतदाता छन्।
प्रदेशभर १ हजार २ सय ९९ मतदान स्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन सम्पन्न गराउन १४ हजार ३ सय ५० कर्मचारी र ७ हजार ६५ स्वयंसेवक परिचालन गरिएको छ।
कास्कीमा मात्रै ३ लाख ८ हजार ५७२ मतदाताले मताधिकार प्रयोग गर्नेछन्। यहाँ ४९ उम्मेदवार चुनावी मैदानमा छन्, जसमा ४४ पुरुष र ५ महिला छन्। जिल्लाभर १५३ मतदान स्थल र ३६३ मतदान केन्द्र कायम गरिएको छ।
मतगणनाका लागि क्षेत्र नम्बर १ को मतगणना पोखरा महानगरपालिका-१५ को वडा कार्यालयमा, क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय (पोखरा) मा र क्षेत्र नम्बर ३ को मतगणना पोखरा सभागृह मा हुने व्यवस्था मिलाइएको छ।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई भयरहित बनाउन चारवटै सुरक्षा निकायको एकीकृत परिचालन गरिएको बताइन्। मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशीलमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिइएको छ। जसमध्ये ३ जनाविरुद्ध मुद्दा चलाइएको छ भने ५ जनामाथि अनुसन्धान जारी छ। मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउन प्रजिअकै नेतृत्वमा विशेष ‘टास्क फोर्स’ गठन गरिएको छ।
आचारसंहितामा कडाइ
मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले निर्वाचन आचारसंहिता पालना गराउन कडाइ गरिएको जानकारी दिए। लिखित उजुरी नपरे पनि मौखिक सूचनाका आधारमा ठूला झण्डा हटाउने, भोजभतेर रोक्ने र २५ जनाभन्दा बढीको जुलुस नियन्त्रण गरिएको छ। सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने र आचारसंहिता विपरीत सामग्री पोस्ट गर्नेलाई ‘इन्फर्मेसन इन्टिग्रिटी युनिट’ मार्फत निगरानी गरी हटाउन लगाइएको अधिकारीहरूले बताएका छन्।
