कास्कीमा करिब ६०प्रतिशत मत खस्यो, मतदाताको उत्साहजनक सहभागिता

Share:

पोखरा । कास्की जिल्लामा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। प्रारम्भिक तथ्यांकअनुसार मतदाताको सहभागिता उत्साहजनक देखिएको छ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार दिनभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको र मतदाताले उल्लेखनीय रूपमा सहभागिता जनाएका छन्। प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको उनले बताए।

निर्वाचन कार्यालयका अनुसार यकिन विवरण आउन भने अझै केही समय लाग्नेछ। मतदान केन्द्रहरूबाट अन्तिम विवरण सङ्कलन भइरहेकोले आधिकारिक तथ्यांक पछि सार्वजनिक गरिने जनाइएको छ।

तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कास्की जिल्लामा यस वर्ष कुल ३ लाख ८ हजार मतदाता रहेका थिए। बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताको लाम देखिएको थियो भने युवादेखि वृद्धसम्मले उत्साहका साथ आफ्नो मताधिकार प्रयोग गरेका थिए।

शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न भएको भन्दै स्थानीय प्रशासनले मतदातालाई धन्यवाद समेत दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: