एमाले नेता खगेन्द्र राईको निधन

172
0
Share:

काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा राष्ट्रिय जनसांस्कृतिक मञ्चका पूर्व केन्द्रीय अध्यक्ष खगेन्द्र राईको निधन भएको छ। खोटाङको ऐँसेलुखर्क गाउँपालिका निवासी राईको चुनावी प्रचार-प्रसारको काम सकेर घर फर्कने क्रममा हृदयघातका कारण निधन भएको नेकपा एमाले खोटाङका नेता राम दंगालले जानकारी दिए।

दंगालका अनुसार मोटरसाइकलमा घर फर्कँदै गरेका राई बुधबार राति करिब ११ बजे बाटोमै अचानक बेहोस भएर लडेका थिए। स्थानीयवासीको सहयोगमा उनलाई उपचारका लागि जालपा स्वास्थ्य चौकी पुर्‍याइए पनि स्वास्थ्यकर्मीले मृत घोषणा गरेका थिए।

लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय राई इमान्दार, सरल र शालीन नेताका रूपमा परिचित थिए। उनले राष्ट्रिय जनसांस्कृतिक मञ्चको केन्द्रीय अध्यक्षका रूपमा समेत काम गर्दै कलाकारिता र सांस्कृतिक आन्दोलनलाई अघि बढाएका थिए।

एमालेको गत महाधिवेशनमा उनी ईश्वर पोखरेल समूहबाट केन्द्रीय सदस्य पदका उम्मेदवार बनेर पराजित बनेका थिए। संगठनभित्र पनि स्वच्छ छवि र निष्ठावान नेताका रूपमा चिनिएका राईको निधनले एमाले खोटाङमा ठूलो क्षति पुगेको नेता दंगालले बताए।

नेता राईको असामयिक निधनपछि खोटाङका राजनीतिक तथा सामाजिक वृत्तमा शोक छाएको छ। पार्टीका नेता–कार्यकर्ताले उनलाई एक इमान्दार, निष्ठावान र संस्कृतिकर्मी नेताका रूपमा सम्झिरहने एमाले नेता दिनेश राईले बताए ।

कमेन्ट गर्नुहोस्
Share: