
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कोसी प्रदेशका २८ मध्ये २७ वटा निर्वाचन क्षेत्रको मतगणना जारी रहँदा प्रदेशमा फरक-फरक राजनीतिक चित्र देखिएको छ। तराईका जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकलौटी अग्रता लिइरहेको बेला पहाडी जिल्लामा भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी बलियो देखिएको छ।
हालसम्मको मतगणना अनुसार पहाडी ६ जिल्लामा श्रम संस्कृति पार्टीका उम्मेदवार अग्रस्थानमा छन्। पछिल्लो मत परिणामअनुसार खोटाङमा पनि श्रम संस्कृति पार्टीका आरेन राईले सुरुवाती अग्रता लिएका छन्।
यस्तै पाँचथरमा हस्तराज राई, इलाम-२ मा सुदिप राई, भोजपुरमा ध्रुवराज राई अग्रस्थानमा छन्। धनकुटामा सानबहादुर राई र उदयपुर-२ मा श्रम संस्कृति पार्टीकै बलराज राईले अग्रता कायम गरेका छन्।
तराईका जिल्लामा भने रास्वपाको प्रभाव देखिएको छ। कोसी प्रदेशका झापा, मोरङ र सुनसरीका १५ वटा निर्वाचन क्षेत्रसहित उदयपुरको एक सिटमा रास्वपाका उम्मेदवार अग्रस्थानमा छन्।
अन्य दलतर्फ ताप्लेजुङ र इलाममा नेपाली कांग्रेसका उम्मेदवार अगाडि रहेका छन् भने तेह्रथुम र ओखलढुंगामा नेकपा एमालेले अग्रता लिएको छ।
यसैबीच सोलुखुम्बुमा मतगणना सुरु भइसकेको छैन। संखुवासभामा भने मतपेटिका संकलन हुन बाँकी रहेकाले शनिबार सबै मतपेटिका संकलन भएपछि मात्रै मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रारम्भिक रुझानले कोसी प्रदेशमा तराई र पहाडबीच फरक राजनीतिक ध्रुवीकरण देखिन थालेको विश्लेषकहरूको भनाइ छ।
