
पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनको कास्कीमा जारी मतगणनामा तीन वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । जसमा रास्वपा उम्मेदवार गनेस पौडेलले १२ हजार १ सय ७९ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । यसैगरी नेकपा (एमाले)का उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले ५ हजार ४ सय ५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका तिलक रानाभाटले ५ हजार २ सय २ मत प्राप्त गरेका छन् ।
कास्की-२ मा रास्वपाका उत्तम पौडेलले २२ हजार १ सय ३९ मतसहित अग्रता बनाएका छन् । एमालेका उम्मेदवार रश्मी आचार्यले ५ हजार ९ सय २६ मत ल्याएका छन्। नेपाली कांग्रेसका माधव बाँस्तोलाले ३ हजार ६ सय ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए ।
उनका अनुसार कास्की-३ मा रास्वपाकी उम्मेदवार बिना गुरुङले ३० हजार ३ सय ७१ मतसहित फराकिलो अग्रता बनाएका छन् । नेपाली कांग्रेसका मनोज गुरुङले १० हजार ७ सय २ प्राप्त गर्दा नेकपा एमालेका दामोदर पौडेल ६ हजार ४ सय १२ मत प्राप्त गरेका छन् । कास्की-३ मा एक लाख सात हजार ५६० मतदाता रहेकामा ६५ हजार ४०७ मत खसेको थियो ।
