कास्कीमा रास्वपाको क्लिन स्वीप : तीनै क्षेत्रमा भारी मतान्तरसहित विजय

Share:

पोखरा। कास्की जिल्लाका तीनै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रभावशाली जीत हासिल गरेको छ। भर्खरै सम्पन्न मतगणनाअनुसार रास्वपाले कास्की-१, कास्की-२ र कास्की-३ तीनै क्षेत्रमा भारी मतान्तरका साथ विजय हासिल गर्दै जिल्लामा आफ्नो मजबुत उपस्थिति देखाएको हो।

कास्की क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार खडकराज पौडेल (गनेस) २१ हजार २ सय ९४ मतान्तरले विजयी भएका छन्। उनले ३० हजार ४ सय ८१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ९ हजार १ सय ८७ मत ल्याए। नेकपा एमालेका बैनबहादुर अधिकारी तेस्रो स्थानमा रहँदै ८ हजार ७ सय ६१ मतमा सीमित भए।

अन्य उम्मेदवारतर्फ नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङ (करण) ले १ हजार ९ सय ९२ मत प्राप्त गरे। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएका विलबहादुर लामाले ९ सय ५८ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापाले ७ सय २७ मत पाए। उज्यालो नेपाल पार्टीकी मनिषा द्धाले ५ सय ६१ मत ल्याइन् भने अन्य उम्मेदवारले १ सय मत पनि कटाउन सकेनन्।

विजयी पौडेल साहित्य क्षेत्रमा समेत परिचित व्यक्तित्व हुन्। उनले यसअघि ‘अटेरी अभियान’मार्फत पोखरा महानगरपालिकाको मेयर पदमा पनि उम्मेदवारी दिएका थिए। कास्की क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेल २४ हजार ४ सय १८ मतान्तरले विजयी भएका छन्। उनले ३१ हजार ९ सय ११ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार रश्मी आचार्यले ७ हजार ४ सय ९३ मत ल्याइन्।

विना गुरुङको झण्डै तेब्बर मतान्तर

कास्की क्षेत्र नम्बर ३ बाट रास्वपाकी विना गुरुङ झण्डै तेब्बर मतान्तरले विजयी भएकी छन्। उनले ३७ हजार ७ सय ५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत ल्याए। नेकपा एमालेका निवर्तमान सांसद दामोदर बैरागी तेस्रो हुँदै ७ हजार ९ सय ६ मतमा सीमित भए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनालले १ हजार ५ सय २५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४ सय ५६ मत पाए। कास्कीका तीनै क्षेत्रमा रास्वपाको विजयले परम्परागत ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका लागि ठूलो चुनौती देखिएको विश्लेषण गरिएको छ। मतदाताले वैकल्पिक राजनीतिक शक्तिप्रति भरोसा देखाएको संकेतका रूपमा यस परिणामलाई हेरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: