बालेन सरकार नारामाथि प्रश्न, को बन्ला प्रधानमन्त्री ?

267
0
Share:

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अहिले नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ। मतगणना अझै पूर्ण रूपमा सकिन नपाउँदै पार्टीभित्र भविष्यको प्रधानमन्त्री को बन्ने ? भन्ने विषयले नेताहरूमाझ अन्योल र बहस सुरु भएको संकेत देखिएको छ।

केही महिनाअघि मात्रै पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन) बीच सात बुँदे लिखित सहमति भएको चर्चा थियो। उक्त सहमतिअनुसार पार्टीको केन्द्रीय नेतृत्व लामिछानेकै काँधमा रहने र निर्वाचनपछि संसदीय दलको प्रमुख तथा प्रधानमन्त्रीको दाबेदार बालेन शाह हुने उल्लेख गरिएको बताइन्छ। यही सहमतिलाई आधार मानेर चुनावी अभियानमा “बालेन सरकार” भन्ने नारासहित मत मागिएको थियो।

तर, मतपरिणाम सार्वजनिक हुँदै जाँदा पार्टीभित्रको माहोल केही फेरिएको जस्तो देखिएको छ। पार्टीका केही प्रभावशाली नेताहरूले पुरानो सहमतिलाई कम महत्व दिन खोजेको संकेत देखिएको छ। विशेष गरी पार्टीका उपसभापति डिपी अर्याल ले निर्वाचित सांसदहरू, अग्रता लिइरहेका उम्मेदवारहरू तथा समानुपातिक सूचीमा रहेका नेताहरूलाई अहिले नै “बालेन हाम्रो प्रधानमन्त्री” भनेर सार्वजनिक अभिव्यक्ति नदिन आग्रह गरेको स्रोतको भनाइ छ। आन्तरिक रूपमा उनले मिडियामा यस्तो धारणा व्यक्त नगर्न निर्देशन दिएको चर्चा छ।

समानुपातिक सूचीमा रहेका एक नेताका अनुसार उपसभापति अर्यालले भनेका छन्,“अहिले नै बालेनलाई प्रधानमन्त्री भन्दै हल्ला नगर्नु, यो विषय संसदीय दलको बहुमतले पछि टुंगो लगाउँछ।” यता काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका अर्यालले विजयपछि पत्रकारहरूसँग कुरा गर्दै उक्त सम्झौताबारे आफूलाई स्पष्ट जानकारी नभएको बताएका छन्। उनले भने, “त्यो कागजमा के लेखिएको छ, हेर्नुपर्ला। मलाई अहिले याद छैन। संसदीय दल बनेपछि त्यसले गर्ने निर्णय सबैले मान्नुपर्छ।”

त्यस्तै सभापति रवि लामिछाने ले पनि चितवनमा पत्रकारहरूले सोधेको “अब पाँच वर्ष बालेन नै प्रधानमन्त्री हो त ?” भन्ने प्रश्नमा स्पष्ट जवाफ दिनबाट जोगिएका थिए। उनले विषय नै मोडेर कुनै ठोस प्रतिक्रिया दिएका छैनन्। निर्वाचनअघि ‘बालेन सरकार’ को नारा दिएर मत मागेका नेताहरू अहिले मतपरिणाम आएपछि भने बालेनलाई प्रधानमन्त्री भन्न हिचकिचाइरहेको देखिन्छ। यसले पार्टीभित्रको सम्भावित आन्तरिक खिचातानी र रणनीतिक मतभेदलाई संकेत गरेको विश्लेषण हुन थालेको छ।

कमेन्ट गर्नुहोस्
Share: