गण्डकीमा रास्वपाले हालसम्म कहाँ-कहाँ कति सिट जित्यो ?

Share:

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै जाँदा गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उल्लेखनीय उदय देखिएको छ। कास्कीका तीनै निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै रास्वपाले प्रदेशमा आफ्नो बलियो उपस्थिति देखाएको छ। कास्की क्षेत्र नम्बर १ बाट खडकराज पौडेल, क्षेत्र नम्बर २ बाट उत्तमप्रसाद पौडेल र क्षेत्र नम्बर ३ बाट विना गुरुङ विजयी भएका छन्। कास्कीका तीनै क्षेत्र जितेर रास्वपाले यहाँ ऐतिहासिक सफलता हात पारेको हो।

त्यस्तै तनहुँमा पनि रास्वपाले दुवै क्षेत्र जितेको छ। तनहुँ-१ बाट डा. स्वर्णिम वाग्ले र तनहुँ-२ बाट इन्जिनियर श्रीराम न्यौपाने निर्वाचित भएका छन्। म्याग्दीबाट भने स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

स्याङ्जामा पनि रास्वपाको बलियो उपस्थिति देखिएको छ। स्याङ्जा-१ बाट धनञ्जय रेग्मी तथा स्याङ्जा-२ बाट झविलाल डुम्रे विजयी भएका छन्। लमजुङबाट रास्वपाका धर्मराज केसी निर्वाचित भएका छन् भने मनाङबाट नेपाली कांग्रेस का उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्। मुस्ताङबाट पनि नेपाली कांग्रेसका योगेश गौचन थकाली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

नवलपुरका दुवै क्षेत्रमा पनि रास्वपाले जित निकालेको छ। नवलपुर-२ बाट मनिष खनाल र नवलपुर-१ बाट राजन गौतम विजयी भएका छन्। त्यसैगरी बागलुङ-१ बाट सुशील खड्का र बागलुङ-२ बाट सोम शर्मा विजयी हुँदै रास्वपाले आफ्नो जितको श्रृंखला कायम राखेको छ।

यता गोरखा जिल्ला का दुवै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ, जहाँ हालसम्म रास्वपाका उम्मेदवार अग्रस्थानमा रहेको जानकारी प्राप्त भएको छ। गण्डकी प्रदेशका धेरै जिल्लामा देखिएको रास्वपाको यो लहरलाई विश्लेषकहरूले नयाँ राजनीतिक शक्ति उदयको संकेतका रूपमा हेरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: