
पोखरा । पोखरा शहरी क्षेत्रमा बढ्दो नसर्ने रोगको चुनौतीबीच पोखरा महानगरपालिकामा गरिएको एक अध्ययनले उपचारको पहिलो सम्पर्क बिन्दु प्रायः निजी फार्मेसी वा क्लिनिक हुने देखाएको छ। शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना (२०२२/२०२५) अन्तर्गत स्वास्थ्य अनुसन्धान तथा विकास मञ्चले महानगरपालिकासँगको सहकार्यमा उक्त अध्ययन सम्पन्न गरेको हो।
अध्ययनका निष्कर्षअनुसार नसर्ने रोगको प्रभावकारी व्यवस्थापनका लागि निजी फार्मेसी र सार्वजनिक स्वास्थ्य संस्थाबीच समन्वय तथा सार्वजनिक-निजी साझेदारीलाई सुदृढ बनाउन आवश्यक देखिएको छ। अध्ययनमा सहभागीहरूले निजी फार्मेसीहरूलाई प्रारम्भिक परीक्षण तथा परामर्श प्रक्रियामा समावेश गर्दा समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुने, जोखिममा रहेका बिरामीको छिटो पहिचान हुने र आवश्यक परे सार्वजनिक स्वास्थ्य संस्थामा रेफरल प्रणाली थप प्रभावकारी बन्ने उल्लेख गरेका छन्।
विशेषगरी (उच्च रक्तचाप) को स्क्रिनिङ तथा प्रारम्भिक पहिचानमा यो मोडेल निकै प्रभावकारी देखिएको अध्ययनले पुष्टि गरेको छ। यस अवसरमा महानगरका नगर प्रमुख धनराज आचार्यले स्वास्थ्य सेवा मानिसको जीवनको गुणस्तरसँग प्रत्यक्ष सम्बन्धित भएकाले यसको दिगोपना र नियमिततामा विशेष ध्यान दिनुपर्ने बताए।
स्वास्थ्य सेवामा हुने सानो त्रुटिले पनि नागरिकको स्वास्थ्य जोखिममा पर्न सक्ने भएकाले सबै सरोकारवालालाई सचेत भएर सेवामा समर्पित हुन उनले आग्रह गरे। उनले नागरिकको स्वास्थ्य सुरक्षाका लागि महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सबैको पहुँचमा पुर्याउन महानगर प्रयासरत रहेको बताए।
नसर्ने रोग व्यवस्थापनका सन्दर्भमा अध्ययनले औंल्याएका विषयहरूलाई महानगरपालिकाको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्दै जाने उनको भनाइ थियो। कार्यक्रममा मुक्तिका आर्यल, भरतराज पौडल, औषधि व्यवसायी, फार्मेसी सञ्चालक तथा एचइआरडी अन्तर्राष्ट्रियका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
