
पोखरा । महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। प्रहरीका अनुसार विकास गुरुङ (४३) लाई बिहीबार पक्राउ गरिएको हो। उनी पोखरा महानगरपालिका-१३ बाँझापाटन निवासी हुन्। गत फागुन २५ गते पोखरा-९ पृथ्वीचोकमा डा. पुन र उनको टोलीले ‘महावीर पुन’ नामक पुस्तक बिक्री गरिरहेका बेला एक अपरिचित व्यक्तिले उनीमाथि अभद्र व्यवहार गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न गुरुङलाई महेन्द्रपुल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुरुङको आपराधिक पृष्ठभूमि समेत देखिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतका अनुसार गुरुङ यसअघि तीन पटक लागूऔषध मुद्दामा सजाय पाइसकेका व्यक्ति भएको प्रहरी अभिलेखबाट खुलेको छ।
