आमाको डे केयर मन्टेश्वरीमा अभिभावक दिवस सम्पन्न

Share:

पोखरा । पोखरा महानगरपालिका-१९ लामाचौरस्थित आमाको डे केयर मन्टेश्वरी स्कुलले विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका साथ अभिभावक दिवस मनाएको छ। कार्यक्रममा विद्यार्थीका प्रतिभा, अभिभावकको सहभागिता र शिक्षाको महत्वलाई विशेष रूपमा उजागर गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बालबालिकाको पहिलो विद्यालय आफ्नै घर हुने र त्यसपछि मात्रै औपचारिक शिक्षाको सुरुवात विद्यालयबाट हुने बताए।

उनले बालबालिकालाई अनुशासित, सभ्य र मर्यादित बनाउन मन्टेश्वरी शिक्षाको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले विद्यार्थीको आधारभूत शिक्षा बलियो भए मात्र उनीहरू भविष्यमा सक्षम र जिम्मेवार नागरिक बन्न सक्ने धारणा राखे।

विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य शिवराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।

पुरस्कार प्रमुख अतिथि वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, शिक्षा अधिकृत जीवनप्रसाद रेग्मी, मन्टेश्वरी एसोसियसन कास्कीका अध्यक्ष रीतु पौडेल, कोषाध्यक्ष तथा पोखरा मन्टेश्वरीका प्रबन्धक थिरबहादुर थापा, अल्फा स्कुलका प्रिन्सिपल सुरेन्द्रमानसिंह भण्डारी तथा विद्यालयका प्रिन्सिपल जीवन आचार्यलगायतले वितरण गरेका थिए।

कार्यक्रममा मन्टेश्वरी एसोसियसन कास्कीका अध्यक्ष रीतु पौडेल, कोषाध्यक्ष एवं प्रबन्धक थिरबहादुर थापा तथा अल्फा स्कुलका प्रिन्सिपल सुरेन्द्रमानसिंह भण्डारीले गुणस्तरीय शिक्षाका लागि विद्यालयको मात्र प्रयास पर्याप्त नहुने र अभिभावकको सकारात्मक सहभागिता पनि उत्तिकै आवश्यक हुने बताए।

मन्टेश्वरीदेखि कक्षा ३ सम्म अध्ययन गराइने उक्त विद्यालयले मन्टेश्वरी पद्धतिमा आधारित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्रिन्सिपल जीवन आचार्यले जानकारी दिए।

कार्यक्रममा विद्यार्थीहरूले नेपाली लोकसंस्कृति झल्कने विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।  विद्यार्थी समिक्षा बाँस्तोला र आयुस परियारले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षिका कल्पना खनालले गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: