पोखरामा ठूलो आवाज निकाल्ने १० मोटरसाइकलसहित ६ जना पक्राउ

Share:

पोखरा। कास्की प्रहरीले सवारी साधन मोडिफाइ गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गर्ने तथा शान्ति सुरक्षा खलल पार्ने गतिविधि नियन्त्रण गर्न थालेको विशेष अभियानअन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको “Operation 365” अभियान अन्तर्गत मिति २०८२ फागुन २९ गते राति १ बजेदेखि बिहान ६ बजेसम्म पोखरा-६ लेकसाइड क्षेत्रमा विशेष चेकिङ गरिएको थियो। सो क्रममा जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चर्को आवाज निकाल्ने गरी मोडिफाइ गरिएका मोटरसाइकल चलाउँदै हिँड्ने १० वटा मोटरसाइकल र ६ जना चालकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ती सवारी साधनले अत्यधिक ध्वनि प्रदूषण गर्नुका साथै शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने गतिविधि गरेको तथा नियन्त्रणमा लिने क्रममा केही चालकले प्रहरीसँग झै-झगडा समेत गरेका थिए। नियन्त्रणमा लिइएका मोटरसाइकल र चालकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले सवारी साधन धनीहरूलाई आफ्नो सवारी साधन मोडिफाइ नगरी पूर्ववत् मौलिक अवस्थामै प्रयोग गर्न आग्रह गरेको छ। साथै मोडिफिकेसन गर्ने ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउसका सञ्चालकलाई समेत यस्तो कार्य नगर्न र नगराउन चेतावनी दिएको छ।

यदि सवारी साधन मोडिफाइ गरी चलाएको पाइएमा सवारी साधन धनी तथा त्यसमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानून बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: