
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट चयन हुने १६ जना सांसदको अन्तिम नामावली टुंगो लगाएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायलाई समेट्दै सांसदहरूको नाम अनुमोदन गरेको हो।
बैठकले आदिवासी जनजाति क्लस्टरबाट ४ जनालाई प्रतिनिधिसभा सदस्यका रूपमा चयन गरेको छ। महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ रहेका छन् भने पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य परेका छन्।
खस आर्य समूहबाट सबैभन्दा धेरै ५ जना सांसद चयन भएका छन्। यस समूहबाट पार्टीका केन्द्रीय सचिव पद्यमा अर्याल र अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्रा हमाल सांसद बनेका छन्। अर्याल स्याङ्जाकी हुन् भने हमाल लमजुङकी हुन्।
खस आर्यकै पिछडिएको क्षेत्रबाट एशुदा कुमारी बराललाई चयन गरिएको छ भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल सांसद बनेका छन्।
थारु समुदायबाट १ जना पुरुष कृपाराम राणा सांसद चयन भएका छन्। दलित कोटाबाट विष्णुमाया वीके र नीता घटानी गरी २ जना महिला सांसद छानिएका छन्।
मधेसी क्लस्टरबाट ३ जना सांसद चयन हुँदा २ महिला र १ पुरुष परेका छन्। महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव तथा पुरुषतर्फ चन्द्रेश्वर मण्डल सांसद बनेका छन्। त्यस्तै मुस्लिम समुदायबाट १ जना महिला साजिदा सिद्दीकीलाई सांसदका रूपमा चयन गरिएको एमालेले जनाएको छ।
