
पोखरा। पोखराको हिमालयन रिडर्स कर्नरमा शनिबार आयोजित साहित्यिक कार्यक्रममा चर्चित उपन्यास ‘यलोफेस’ माथि विस्तृत परिचर्चा गरिएको छ। र्यान्डम रिडर्स सोसाइटी अफ नेपालको नियमित शृंखलाअन्तर्गत आयोजित कार्यक्रममा उपन्यासले उठाएका साहित्यिक चोरी, सांस्कृतिक स्वामित्व र पहिचानको राजनीतिका विषयमा गहन बहस भएको हो।
कार्यक्रममा लेखक तीर्थ गुरुङले तयार पारेको अवधारणापत्र प्रस्तुत गर्दै उपन्यासले समकालीन साहित्यिक प्रवृत्तिमा देखिएका जटिलता र विवादलाई उजागर गरेको बताए। कार्यक्रममा ६० भन्दा बढी पाठकको सहभागिता रहेको उनले जानकारी दिए।
रेबेका कुवाङद्वारा लिखित ‘यलोफेस’ उपन्यास साहित्यिक मित्रता र प्रतिस्पर्धाको जटिल सम्बन्धबाट सुरु हुन्छ। कथामा मुख्य पात्र जुन हेवर्डले आफ्नी चिनियाँ-अमेरिकी साथी एथेना लिउको आकस्मिक मृत्युपछि उनले लेखिरहेको अधुरो पाण्डुलिपि चोरेर परिमार्जन गरी आफ्नै नाममा प्रकाशित गर्छिन्। त्यसपछि उनी एकाएक चर्चित लेखिका बन्छिन्।
उपन्यासमा जुनले आफ्नो जातीय पहिचान लुकाउन ‘जुनियर सोङ’ नाम प्रयोग गर्ने प्रसंगलाई केवल साहित्यिक चोरी मात्र नभई अर्काको संस्कृति र अनुभवमाथिको हस्तक्षेपका रूपमा चित्रण गरिएको छ।
अवधारणापत्रमा उपन्यासले सांस्कृतिक स्वामित्व र प्रतिनिधित्वका विषयमा उठाएका प्रश्नहरूबारे पनि चर्चा गरिएको थियो। गुरुङका अनुसार कृतिले प्रकाशन उद्योगको भित्री यथार्थलाई समेत प्रस्ट रूपमा देखाएको छ। बजारमा ‘विविधता’लाई कसरी व्यापारिक वस्तुका रूपमा प्रयोग गरिन्छ र लेखकहरूलाई जातीय पहिचानका आधारमा कसरी ‘टोकनाइज’ गरिन्छ भन्ने पक्षलाई कृतिले उजागर गरेको उनले बताए।
उपन्यासमा देखाइएको ‘एटेन्सन इकोनोमी’ र ‘क्यान्सिल कल्चर’ ले सामाजिक सञ्जालका एल्गोरिदमभित्र साहित्य कसरी प्रभावमा पर्छ भन्ने विषयलाई पनि स्पष्ट पारिएको छ। सामाजिक सञ्जाल, विशेषगरी ट्विटर र टिकटकमा हुने बहस तथा ट्रोलिङले कुनै पनि लेखकलाई एकाएक चर्चामा ल्याउन वा संकटमा पार्न सक्ने अवस्थालाई पनि कृतिले चित्रण गरेको उनले उल्लेख गरे।
कार्यक्रममा सरस्वती प्रतीक्षा, गौरी गुरुङ र शिव संकल्पसँग प्रश्नोत्तर गर्दै गुरुङले बहसलाई थप विस्तार दिएका थिए। कार्यक्रममा रमेशबहादुर थापा र कीर्तन गौतमले पनि उपन्यासका विभिन्न आयामबारे धारणा राखेका थिए।
कार्यक्रमका क्रममा गुरुङले उपन्यासमा मुख्य पात्र बाहेक अन्य पात्रहरूको विकास केही कमजोर देखिएको र कथाको अन्त्य अलि हतारिएको जस्तो लागेको टिप्पणी पनि गरे। ‘यलोफेस’ ले उठाएको आइडेन्टिटी पोलिटिक्स र प्लेजरिजमसम्बन्धी बहसले सहभागी पाठकहरूबीच लामो समयसम्म जिज्ञासा र छलफलको वातावरण सिर्जना गरेको थियो।
संस्थाका अध्यक्ष दीपक पराजुलीले विश्व साहित्यमा चर्चित कृतिमाथि बहस गर्ने योजना यसपटक सफल भएको बताए। संस्थाका सचिव ध्रुव केसीले आगामी महिनाको छलफलका लागि चयन गरिने पुस्तकबारे छिट्टै जानकारी गराइने बताए।
