
पोखरा। नेकपा (एमाले) का नेता तथा पोखराका पूर्वमेयर कृष्णबहादुर थापाको शनिबार पोखरामा अन्त्येष्टि गरिएको छ। पोखरा-१६ बाटुलेचौरस्थित निवासबाट पार्थिव शरीरलाई धार्मिक विधिअनुसार शवयात्रासहित याम्दी पुल नजिक सेती नदीको तुलसीघाटमा अन्त्येष्टि गरिएको हो।
गत फागुन २८ गते जिल्ला पार्टी कार्यालय कास्कीमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा सहभागी भएका नेता थापा अचानक हृदयघातका कारण ढलेका थिए। उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो भने उपचारकै क्रममा उनको निधन भएको हो।
शनिबार बिहान थापाको पार्थिव शरीर नयाँबजार शान्ति दर्शन मार्गस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय कास्कीको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। सो अवसरमा एमालेका केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिव खगराज अधिकारी, पद्मा अर्याल, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिना, नेकपा नेता राजकाजी गुरुङलगायत विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।
एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले थापालाई पार्टीको नीति र निर्णयलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने सच्चा जनप्रतिनिधिका रूपमा स्मरण गरे। उनले २०३६ सालदेखि विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनमा प्रवेश गरेका थापाले एमाले पोखरा नगर कमिटीले अघि सारेको विकास निर्माणको अवधारणालाई २०५४ देखि २०५९ सालसम्म मेयर हुँदा प्रभावकारी रूपमा कार्यान्वयन गरेको बताए।
कार्यक्रममा गायक तथा संगीतकार रामभक्त जोजेजू, गायक कर्ण दाश र गायिका इतु जोजेजूले थापाले सिर्जना गरेका ‘मेरो कुनै जात छैन, जात नेपाली’, ‘श्रम सीप जुटाऔं, पोखरालाई उठाऔं’ र ‘पोखरा हेर्दामा राम्रो’ बोलका गीत प्रस्तुत गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
पोखरा महानगरपालिकाले पनि पूर्व मेयर थापाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। महानगरको दमकलस्थित कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा मेयर धनराज आचार्य र उपमेयर मन्जुदेवी गुरुङले थापाको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा र महानगरपालिकाको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, दलका नेताहरू दिवसमान प्रधानांग, राधिकाकुमारी शाही योगी, कार्यपालिका तथा नगरसभाका सदस्य, महाशाखा प्रमुख, कर्मचारी तथा शुभेच्छुकहरूले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
वि.सं. २०५४ देखि २०५९ सालसम्म तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर रहेका थापाले पोखराको विकास र व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको मेयर धनराज आचार्यले बताए। उनले पूर्व मेयर थापाको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आइतबार महानगरपालिकामा शोक मनाइने र महानगर तथा मातहतका कार्यालयहरू बन्द रहने जानकारी दिए।
