नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

Share:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई मातृभूमिमा लगानी गर्न आह्वान गरेकी छिन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको समापत्र सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मातृभूमिको माया र जिम्मेवारी सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका साथ लाग्न आह्वान गरेकी हुन् ।

‘नेपालको विकास र समृद्धिका लागि सरकारको प्रयास मात्र पर्याप्त हुँदैन । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक हुन्छ। त्यसैले म सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई मातृभूमिप्रतिको माया र जिम्मेवारीलाई सम्झेर नेपालको विकास यात्रामा सक्रिय सहभागिताका लागि आह्वान गर्दछु,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले एनआरएनएको एकताले नेपालको समृद्धि र विकासका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन् । उनले नेपालको लगानी र अवसरलाई सदुपयोग गर्न अपिल गर्दै प्रवासी नेपालीको हातेमालोले विकास, पर्यावरणीय संरक्षण र आर्थिक रुपमा समृद्ध बनाउने बताइन् । प्रधानमन्त्री कार्कीले नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मासहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि दिइन् । सम्मेलनले विश्वका विभिन्न कुनामा फैलिएका नेपालीहरूलाई एउटै मञ्चमा ल्याएर एकताको सन्देश प्रवाह गर्न महत्त्वपूर्ण रहेको बताइन् ।

सम्मेलनले सबैमा साझा प्रतिबद्धता, नयाँ सहकार्यको वातावरण र मुलुकको विकासतर्फ अग्रसर हुने स्पष्ट मार्गदर्शन गरेको उनले उल्लेख गरिन् । ‘नेपाल अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ । नयाँ जनादेश र बदलिँदो राजनीतिक परिवेशले मुलुकलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगाएको छ,’ उनले भनिन्, ‘यस्तो महत्वपूर्ण समयमा यहाँहरूले एकताको महाधिवेशन आयोजना गरी नेपालको विकासमा सहकार्य र साझा जिम्मेवारीको सन्देश प्रवाह गर्नुभएको छ ।’

गैरआवासीय नेपालीहरु वास्तवमा नेपालको सद्भावना दूत रहेको भन्दै प्रधानमन्त्रीले थपिन्, ‘तपाईंहरूसँगै नेपालको पहिचान पनि संसारभर फैलिरहेको हुन्छ। विश्वसामु कस्तो नेपाल प्रस्तुत गर्ने भन्ने कुरा तपाईंहरूको आचरण, व्यवहार र योगदानमा पनि निर्भर हुन्छ। तपाईंहरू जहाँ बस्नुहुन्छ, त्यहाँ नेपालको गौरव, पहिचान र संस्कृतिलाई विश्वसामु परिचित गराइरहनुभएको पनि छ। यसका लागि म तपाईंहरू सबैप्रति सम्मान व्यक्त गर्दछु।’

नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकताको व्यवस्था गरेको भन्दै उनले यो प्रबन्ध मातृभूमि र प्रवासी नेपालीबीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउने सेतु भएको बताइन् । ‘यसले तपाईंहरू जहाँ रहे पनि आफ्नो ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा योगदान गर्न सक्ने अवसर सुनिश्चित गरेको छ,’ उनले भनिन् । यसअनुरूप लगानी र सहकार्यका विभिन्न अवसरहरूमा सक्रिय सहभागिताका लागि उनले आह्वान गरिन् । ‘तपाईंहरूको योगदानले देशको दिगो विकास, पर्यावरणीय संरक्षण र आर्थिक समृद्धिलाई सुदृढ बनाउनेछ,’ उनले भनिन् ।

नेपाललाई समृद्ध, अवसरयुक्त र उन्नतिशील राष्ट्र बनाउनु साझा लक्ष्य भन्दै प्रधानमन्त्री कार्कीले नेपालमै अवसर सिर्जना गर्ने, नेपाली युवालाई आशावादी बनाउने र नेपाल विश्वका पर्यटकका लागि सुरक्षित तथा आकर्षक गन्तव्य हो भन्ने सन्देश फैलाउने काममा प्रवासी नेपालीहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरिन् । नेपाल नयाँ सरकार गठनको चरणमा रहेको भन्दै प्रधानमन्त्री कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने, गैरआवासीय नेपालीको पुँजीलाई सुरक्षित र पारदर्शी ढङ्गले परिचालन गर्ने तथा दीर्घकालीन लगानी संरचना निर्माण गर्ने नीति अबको प्राथमिकतामा रहने विश्वास व्यक्त गरिन् ।

गैरआवासीय नेपालीहरूको लगानी आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्वपूर्ण हुने भन्दै प्रधानमन्त्री कार्कीले यो लगानी नेपाली मन र नेपालीपनसँग जोडिएको लगानी भएको बताइन् । यसले विदेशमा रहेका नेपाली र नेपालमा रहेका नेपालीबीच आर्थिक समुन्नति मात्र होइन, पहिचान र सामाजिक एकतालाई पनि सुदृढ बनाउने उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले विभाजन र मुद्दा मामिलासम्म पुगेको संघलाई एउटै मञ्चमा उभिएर सर्वसम्मत नेतृत्व चयन गरी अगाडि बढ्ने प्रण लिएकोमा प्रशंसा गर्दै विश्वभर रहेका नेपालीहरूको भावनात्मक एकताको सूत्र बन्न सकोस् भनी शुभकामना दिइन् ।
आफू बाँच र अरूलाई पनि बचाऊ भन्ने मन्त्रअनुसार भूकम्प, बाढीपहिरो, महामारीजस्ता विपद्का बेला देशलाई सहयोग गरेको, लगानी भित्र्याउने अभियान सञ्चालन गरेको, विदेशमा जन्मे-हुर्केका नयाँ पुस्तालाई पनि नेपालसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्नुभएकोमा प्रधानमन्त्री कार्कीले धन्यवाद दिँदै भनिन्, ‘यस्ता कामहरू एकताबद्ध भएर गर्दा अझ प्रभावकारी हुनेछन् ।’

कार्कीले अब बन्ने सरकारले मुलुकलाई सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको मार्गमा तीव्र गतिमा अघि बढाउने विश्वास पनि व्यक्त गरिन् । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल नेपालीले नै बनाउने बताए । ‘संस्थामा बीचमा केही समस्या आएका थिए । तर ती समस्यालाई थाहा पाएर निराकरण गरेर तबमात्र अगाडि बढिन्छ भन्ने लागेर सबैले मेहनत गरेर हाम्रो बाटोमा फेरि ल्याइदिनुभएको छ,’ उनले भने ।

सभ्यता र संस्कारसहितको आर्थिक समृद्धि आवश्यक रहेको भन्दै उनले सरकारसँग हातेमालो गरेर अगाडि बढ्न गैरआवासीय नेपाली तयार रहेको बताए । ‘सानो मन हुन दिँदैनौं । ठूलो मन बनाएर अगाडि बढ्छौं,’ उनले भने । नयाँ आउने कार्यसमितिमा ठूलो आशा र जिम्मेवारी नेपालीले दिएको भन्दै त्यसलाई सम्हालेर अगाडि बढ्न उनले अनुरोध गरे ।

एनआरएनएका संस्थापक अन्तर्राष्ट्रिय संयोजक एवं म्यानमारका लागि नेपाली पूर्वराजदूत भीम उदासले समृद्ध नेपाल निर्माणका लागि रणनीतिक साझेदारी जरुरी भएको र एनआरएनए उपयुक्त प्लाटफर्म भएको बताए । नेपाली डायस्पोरा लगानीका लागि महत्त्वपूर्ण पक्ष भएको र विभिन्न क्षेत्रमा लगानी गर्न सक्ने सम्भावना रहेको उनको भनाइ थियो ।

पूर्वअध्यक्ष जीवा लामिछानेले विदेशमा बसे पनि गैरआवासीय नेपालीमा देशको लागि केही गर्नुपर्ने भावना रहेको बताए । प्रवासी नेपालीहरु एक भएर समृद्ध नेपालको अभिभारामा हातेमालो गर्न चाहेको उनको भनाइ छ । एनआरएनए एकेडेमिकहरुको संस्था हो भन्ने डा. हेमराज शर्मा निर्विरोध अध्यक्ष भएबाट पुष्टि भएको पनि बताए ।

अध्यक्ष डा. बद्री केसीले प्रविधिको युगमा धेरै देशले प्रवासमा रहेका नागरिकलाई मताधिकार दिएको भन्दै आउने सरकारले प्रवासी नेपालीलाई यो अधिकार सुनिश्चित गर्न माग गरे । उनले एकपटकको नेपाली सधैको नेपाली भन्दै नेपालीलाई नेपाल आउनबाट वञ्चित नगर्न पनि माग गरे । गैरआवासीय नागरिकता वा गैरआवासीय प्रमाणपत्र दिएर उनीहरुलाई सहजै मातृभूमिप्रति समर्पित हुने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

विदेशको नागरिकता लिए पनि नेपाली नागरिकता कायमै रहनेगरी संविधान संशोधन गरेर व्यवस्था गर्न र नेपालीको पहिचान नखोस्न पनि माग गरे । अध्यक्ष केसीले मध्यपूर्वको तनावले जोखिममा परेका लाखौं श्रमिक नेपालीलाई सरकार र एनआरएनएले भरोसा दिलाउनुपर्नेमा जोड दिए । एनआरएनएमा एकता भइसकेको भन्दै अध्यक्ष केसीले नेपालको विकास र समृद्धिमा हातेमालो गर्न गैरआवासीय नेपाली सदैव तयार रहेको प्रतिबद्धता जनाए ।

अर्का अध्यक्ष महेशकुमार श्रेष्ठले गैरआवासीय नेपाली संघभित्र थुप्रै मतभेद भए पनि एकताबद्ध रुपमा एकताको १२औं महाधिवेशन सम्पन्न गरेको बताए । ‘हामी विभाजित हुँदा असाध्यै कमजोर भयौं । विश्वास टुट्यो । हामीप्रतिको अविश्वासले मुद्दा कमजोर भएका थिए । आजबाट त्यो अविश्वास टुटेको छ । अब यस्तो टुटफुट दोहोरिन दिने छैनौं । मिलेर सकारात्मक सोचका साथ अगाडि बढ्नेछौं,’ उनले भने । समृद्ध नेपाल निर्माणमा योगदान गर्न चाहने भन्दै आफूहरुका मुद्दा सम्बोधन गर्न माग गरे ।

गैरआवासीय नेपाली नागरिकताले अधिकार नपाएको भन्दै उनले आगामी सरकारले सम्बोधन गरेर अधिकार दिलाउने विश्वास व्यक्त गरे । उनले प्रवासी नेपालीको लगानी भित्र्याउन ऐनहरु संशोधन गर्नुपर्ने, धितोपत्र बोर्डसम्बन्धी नियमावली संशोधन गरेर अर्बाै लगानी भित्र्याउने सकारात्मक वातावरण आगामी सरकारले बनाउने उनको विश्वास थियो ।

संघका उपाध्यक्ष एवं अध्यक्षमा निर्विरोध डा. हेमराज शर्माले आफूलाई सर्वसम्मत बनाएकोमा रोविन शेरचन र रविन बर्जाचार्यलाई धन्यवाद दिए । एनआरएनएको एकताका लागि भूमिका खेल्ने पूर्वअध्यक्षहरु, सरकारका पदाधिकारीलाई पनि सम्मान व्यक्त गरे । शर्माले प्रवासी नेपालीको ज्ञान सीप र पुँजीलाई आर्थिक र सामाजिक विकासमा एकताबद्ध गर्ने उद्देश्यले एनआरएनएको स्थापना भएको र सबै प्रवासीलाई स्वदेशसँग जोड्ने काम गरेको बताए ।

आफूले एनआरएनएलाई रिब्राण्डिङ गर्दै पुस्तौसम्म जोड्ने प्रतिबद्धता गरेको बताए । ‘संघलाई बलियो बनाउँदै आम गैरआवासीयलाई जोड्ने र समस्या केन्द्रित हुने निधो गरेको छु । संस्थाको पुनर्संरचना गर्ने, सम्पूर्ण पञ्जीकृत सदस्यले अनलाइनबाट समिति चयन गर्न सकिने व्यवस्था गरिनेछ ।

वशंजको नागरिकता कायम, सम्पत्तिको अधिकार, निर्वाचनमा मताधिकार, पिएनओज, ब्रिटिस गोर्खाका मुद्दामा काम गर्नेछु । अब बन्ने सरकार विदेशमा बसेका नेपालीको मुद्दामा उदार देखिएकाले हाम्रा मागहरु पूरा हुनेछन् भन्ने अपेक्षा छ,’ उनले भने ।

सुरक्षित मर्यादित वैदेशिक रोजगारका लागि केन्द्रीय कार्यालयमा फोकल पर्सन राख्ने, श्रमिकका समस्याहरु रियल टाइम थाहा पाउन आर्टिफिसियल इन्टलीजेन्स प्रयोग गर्नेलगायत आफ्ना योजनाहरु उनले समारोहमा सुनाएका थिए ।

उनले आफू नेतृत्वमा पुग्छु भन्ने कल्पना नगरेको भन्दै एनआरएनए सबैको हो भन्ने सन्देश गएको बताए । शर्माले संघको विभाजन भएका एनसीसी कार्यसमिति देशहरुमा पुग्ने र एकताको वातावरण बनाउने प्रतिबद्धता पनि जनाए ।

समापन सत्रमा पूर्वअध्यक्ष विनोद कुँवर, भवन भट्ट, आरके शर्मा लगायतले नयाँ कार्यसमितिलाई बधाई नयाँ ढंगबाट नयाँ सोचले नयाँ सरकारसँग एकताबद्ध ढंगले काम गर्न शुभकामना दिएका थिए । समारोहमा प्रवक्ता गंगाधर गौतमले १२औं अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा पत्र प्रस्तुत गरेका थिए । समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको हातमा सम्मान पत्र र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: