
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट कास्की निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रश्मि आचार्यले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।
पोखरास्थित जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको विवरणअनुसार आचार्यले कुल २३ लाख ५०० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। उक्त रकम निर्वाचन प्रचारप्रसारदेखि लिएर कार्यालय सञ्चालन र मतदाता शिक्षा कार्यक्रमसम्म विभिन्न ११ शीर्षकमा खर्च गरिएको देखिन्छ।
जसमा छपाई तथा विद्युतीय प्रचारमा ५ लाख ५० हजार, झण्डा, ब्यानर लगायत प्रचार सामग्रीमा ३ लाख ७० हजार, सवारी साधनमा ३ लाख, कार्यालय सञ्चालनमा ३ लाख ३० हजार, एसएमएस तथा सामाजिक सञ्जाल प्रचारमा २ लाख ६१ हजार रुपैयाँ खर्च गरिएको छ ।
त्यसैगरी, मनोनयन दर्ता शुल्क, मतदाता शिक्षा कार्यक्रम तथा अन्य विविध प्रचार गतिविधिमा समेत खर्च गरिएको जनाइएको छ। निर्वाचन ऐनअनुसार उम्मेदवारले तोकिएको समयभित्र आफ्नो खर्च विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ। सोही कानुनी व्यवस्था पालना गर्दै आफूले पारदर्शी रूपमा विवरण सार्वजनिक गरेको आचार्यले बताएका छन्।


