
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नागरिकता लिएको आरोपमा एक व्यक्तिलाई प्रहरीको जिम्मा लगाएको छ। प्रशासनका अनुसार हिराधन पुनले झुटा विवरण पेस गरी दुई स्थानबाट नागरिकता लिएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालद्वारा जारी विज्ञप्तिअनुसार पुनले २०४७ फागुन २९ गते रुकुमबाट पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए। त्यसको करिब ११ वर्षपछि २०५८ वैशाख २० गते कास्कीबाट पुनः अर्को नागरिकता बनाएका थिए।
प्रारम्भिक अनुसन्धानले देखाएअनुसार दोस्रो नागरिकता बनाउँदा उनले आफ्नो नाम, थर, जन्ममिति, जन्मस्थान, स्थायी ठेगाना र बाबुको नामसमेत फरक विवरण पेस गरेका थिए।
प्रशासनले यसलाई गम्भीर कानुनी उल्लङ्घन ठहर गर्दै थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको जनाएको छ। घटनाबारे विस्तृत छानबिन जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रशासनले स्पष्ट पारेको छ।
