
पोखरा । नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्ज र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। महानगरपालिकामा भएको उक्त भेटमा दुईपक्षीय हित, विकास सहकार्य र भविष्यका सम्भावनाबारे विस्तृत छलफल भएको हो।
भेटका क्रममा नगर प्रमुख आचार्यले जर्मन सरकारको सहयोगमा पोखरामा सञ्चालन भइरहेका विभिन्न परियोजनाहरूको प्रगति बारे जानकारी गराउँदै कतिपय नीतिगत विषय कार्यान्वयनको चरणमा रहेको बताए। विशेषगरी जर्मनी सरकारको अन्तर्राष्ट्रिय विकास सहयोगसम्बन्धी प्रमुख संस्था (GIZ) को सहकार्यमा तयार गरिएको पञ्चवर्षीय नगर ऊर्जा योजना कार्यान्वयनमा गएको उल्लेख गर्दै वैकल्पिक ऊर्जा, गरिबी निवारण र दिगो विकासमा थप सहकार्यको अपेक्षा व्यक्त गरे।
त्यसैगरी आचार्यले पोखरामा पर्यटन पूर्वाधार विकास, सांस्कृतिक आदानप्रदान र जर्मन शहरहरूसँग भगिनी सम्बन्ध स्थापना गर्न इच्छा व्यक्त गर्दै त्यसका लागि पहल गरिदिन राजदूत भोल्जलाई अनुरोध गरे। उनले पोखरा-जर्मनी अन्तर्राष्ट्रिय उडान सञ्चालनको सम्भावनाबारे समेत ध्यानाकर्षण गराए।
जवाफमा राजदूत भोल्जले पहिलो पटक पोखरा भ्रमण गर्दा सहर अत्यन्तै सुन्दर लागेको उल्लेख गर्दै हिमालको काखमा अवस्थित यस सहरको थप विकास, समृद्धि र वातावरणीय सुधारका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने बताए।
उनले नेपाल-जर्मनीबीचको दीर्घकालीन कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै ऊर्जा दक्षता, पर्यटन प्रवर्द्धन र दिगो विकासका क्षेत्रमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। भेटवार्तामा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङसहित उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

