
काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले फेरि एकपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले स्पष्ट शब्दमा लेखे, “प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो! जनमतले त्यही भन्छ।” उनको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले झन्डै दुईतिहाइ बहुमत ल्याउने नतिजा सार्वजनिक हुनासाथ साम्पाङले सरकारको नेतृत्व रविले गर्नुपर्ने मत दोहोर्याएका हुन्। तर रोचक कुरा के छ भने, चुनावअघि रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई अघि सारेको थियो। यही सहमतिमा बालेन समूह रास्वपामा समाहित भएको थियो।
साम्पाङ र बालेन दुवै पछिल्लो स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका नयाँ अनुहार हुन्। बालेन काठमाडौं महानगरपालिकाको मेयर बनेका थिए भने साम्पाङ धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका थिए।
तर पछिल्लो समय, विशेषगरी ‘जेनजी आन्दोलन’पछि अन्तरिम सरकार गठनका क्रममा आफूलाई समर्थन नगरेको भन्दै साम्पाङ बालेनप्रति असन्तुष्ट छन्। यही असन्तुष्टिले उनको पछिल्लो अभिव्यक्तिमा प्रभाव पारेको देखिन्छ।
चुनावी अभियानकै क्रममा साम्पाङले रवि लामिछानेको कडा आलोचना गरेका थिए। तर अहिले परिस्थिति फेरिँदै जाँदा उनी रविकै पक्षमा उभिएका छन्।
