जितको उन्माद होइन, जिम्मेवारी बोकेर अघि बढौं- सभापति रवि लामिछाने

Share:

काठमाडौं । प्रतिनिधि सभामा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको समापनमा सभापति रवि लामिछाने स्वयं उपस्थित हुँदै सांसदहरूलाई विजेता हुनुको अर्थ छाडा हुनु होइन, जिम्मेवार हुनु हो भन्दै सन्देश दिएका छन्। केही दिनअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका लामिछानेले आफ्नो सम्बोधनमा वर्तमान जनमतलाई असाधारण अवसरको रूपमा व्याख्या गर्दै भने, “यो सामान्य परिस्थितिले आएको परिवर्तन होइन, युवाहरूको बलिदानले आएको हो-यसलाई संस्थागत गर्नुपर्छ।”

उनले सांसदहरूलाई अर्को चुनावको तयारी होइन, पुस्तान्तरणको जिम्मेवारी बोकेर काम गर्न निर्देशन दिए । उनले भने, “हामी एउटा चुनावबाट अर्को चुनावका लागि होइन, एउटा पुस्ताबाट अर्को पुस्ताका लागि लडेका हौं।”

लामिछानेले विकासलाई केवल भौतिक संरचनामा सीमित नगर्न चेतावनी दिए। उनका अनुसार विकासको सूचक सामाजिक न्याय हो। जहाँ विभेद छ, त्यो समाज मान्छे बस्ने समाज होइन। उनले कर्णाली, मधेस र सुदूरपश्चिमजस्ता क्षेत्रहरूको उदाहरण दिँदै सन्तुलित विकासमा जोड दिए । उनले भने,“एक क्षेत्रमा बजेट थुपारेर अर्को क्षेत्रलाई रुवाउनु विकास होइन।”

रास्वपाले अपेक्षाअनुसार सबै समुदायलाई समेट्न नसकेको स्वीकार गर्दै उनले दुःख व्यक्त गरे, विशेष गरी राई-लिम्बू समुदायको प्रतिनिधित्व हुन नसकेकोमा क्षमायाचना गरे। राजनीतिक परिवर्तनसँगै उठेका आशंकालाई सम्बोधन गर्दै उनले स्पष्ट पारे, “वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थाप्रति हाम्रो प्रतिबद्धता अडिग छ।”

उनले नयाँ नेतृत्वबाट अधिनायकवाद आउने आशंका निराधार भएको दाबी गर्दै भने, “मुलुक राम्रो हातमा छ, हामी यसलाई अत्यन्त सावधानीका साथ अघि बढाउँछौं।” सामाजिक सञ्जालमा देखिएको असहिष्णु व्यवहारप्रति पनि लामिछाने कडा देखिए। उनले समर्थकहरूलाई संयमित र जिम्मेवार अभिव्यक्ति दिन आग्रह गर्दै भने, “गालीगलोज होइन, संस्कार देखाउनुपर्छ।”

लामिछानेले सुशासनमा नयाँ मानक स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने र विश्वविद्यालयदेखि उद्योगसम्म सुधार गर्ने प्रतिबद्धता दोहोर्‍याए। साथै, पार्टी विधानमा रहेको ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने घोषणा पनि गरे।

सांसदहरूलाई लक्षित गर्दै उनले स्पष्ट चेतावनी दिए, “मन्त्री बन्ने दौडमा मिडिया ट्रायल नगर्नुहोस्, पार्टीले योग्यताको आधारमा निर्णय गर्छ।”

कमेन्ट गर्नुहोस्
Share: