
काठमाडौं । बालेन्द्र शाह प्रधानमन्त्री बन्ने लगभग निश्चित भएसँगै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सत्ता समीकरण र मन्त्री छनोटको बहस तीव्र बनेको छ। झण्डै दुई तिहाइ बहुमतसहित सरकार गठनको तयारी भइरहँदा अब सबैको ध्यान नयाँ मन्त्रिमण्डल कस्तो बन्ने भन्नेमा केन्द्रित भएको छ। गत पुस १३ गते भएको ७ बुँदे सहमतिअनुसार रवि लामिछाने पार्टी सभापति रहने र बालेन्द्र शाह संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने सहमति भइसकेको छ। चुनावी परिणामले त्यो सहमति कार्यान्वयनको चरणमा पुगेको छ।
तर सरकार गठनअघि नै मन्त्री बन्ने आकांक्षी सांसदहरूको सक्रियता बढेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ। यसै सन्दर्भमा सभापति रविले कडा चेतावनी दिएका छन्। ललितपुरमा आयोजित सांसद अभिमुखीकरण कार्यक्रममा उनले स्पष्ट शब्दमा भने, “मन्त्री बन्न दौडधुप गर्ने, भेटघाट र फोटो खिच्ने राजनीति अब बन्द गर्नुपर्छ। अब पुरानो शैली चल्दैन।”
रविको यो अभिव्यक्तिले पार्टीभित्र अनुशासन कायम गर्न र शक्ति केन्द्रित राजनीतिलाई रोक्न खोजिएको संकेत गरेको छ। यता सम्भावित प्रधानमन्त्री बालेन्द्र शाह भने कार्यसम्पादनमुखी क्याबिनेट बनाउन चाहिरहेका छन्। उनी मन्त्री चयनमा विज्ञता, प्राविधिक क्षमता र काम गर्ने दक्षतालाई प्राथमिकता दिने पक्षमा छन्। स्रोतका अनुसार उनी १८ जनाभन्दा कम सदस्यीय सानो मन्त्रिमण्डल बनाउने सोचमा छन्।
सरकार गठनसँगै पहिलो १०० दिनको स्पष्ट कार्ययोजना र पाँच वर्षे रणनीति तयार गर्न बालेनको टिम दुई हप्तादेखि सक्रिय छ। जनताले प्रत्यक्ष महसुस गर्ने खालका कामलाई प्राथमिकतामा राखिने बताइएको छ। यद्यपि मन्त्री छनोटको अन्तिम निर्णय कसले गर्ने भन्नेमा चासो बढेको छ। रवि लामिछानेले आफूले “राइट टु रिकल” कडाइका साथ लागू गर्ने संकेत दिँदै मन्त्री चयन र फिर्ता बोलाउने अधिकार पार्टीसँग रहने सन्देश दिएका छन्। यसले बालेन नेतृत्वको सरकार भए पनि राजनीतिक नियन्त्रण पार्टी संगठनमार्फत रविकै हातमा रहने सम्भावना देखाएको छ।
पार्टीका नेता गणेश पराजुलीका अनुसार मन्त्री चयन सभापति, वरिष्ठ नेताहरू र सचिवालयको सल्लाहमा हुनेछ। “हामीसँग गल्ती गर्ने छुट छैन, पार्टीको प्रतिबद्धता नै हाम्रो मार्गचित्र हो,” उनले भने। रविले पार्टीलाई कमजोर बनाउन बाह्य प्रयास हुनसक्ने चेतावनीसमेत दिएका छन्। साथै उनले अन्तर्राष्ट्रिय सम्बन्ध, लगानी वातावरण र वर्तमान संवैधानिक व्यवस्थाप्रति पार्टी प्रतिबद्ध रहेको दोहोर्याएका छन्।
