गण्डकीमा कांग्रेसको पतन: हारपछि आत्मसमीक्षा

Share:

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसले भोगेको अप्रत्याशित चुनावी पराजयपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा सुरु भएको छ। अघिल्लो निर्वाचनमा १० सिट जितेको कांग्रेस यसपटक १८ मध्ये जम्मा २ सिटमा सीमित हुँदा राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। मनाङ र मुस्ताङमा मात्रै जित निकाल्न सफल कांग्रेसले बाँकी १६ सिट गुमायो, जहाँ १५ सिट राष्ट्रिय स्वतन्त्र पार्टीले जित्दा एक सिट स्वतन्त्र उम्मेदवारको पोल्टामा गयो। यो परिणामले गण्डकीमा पुराना दलको प्रभाव खस्किएको संकेत दिएको छ।

कास्की-२ का पराजित उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) का अनुसार कांग्रेसले चुनाव नै नहुने मनोवैज्ञानिक अन्योलमा ठूलो रणनीतिक भूल गर्‍यो। निर्वाचन आयोग नेपाल ले मतदाता नामावली अद्यावधिक गरिरहँदा पार्टी निष्क्रिय बस्दा लाखौँ नयाँ मतदाता हातबाट फुत्किएको उनको भनाइ छ।

तनहुँका सभापति जीतप्रकाश आलेले पार्टीभित्रको सामन्तवादी प्रवृत्तिलाई हारको जड मान्छन्। केन्द्रीय नेताहरू हार्दा पनि पद सुरक्षित हुने तर तल्लो तहका कार्यकर्ता सधैं जोखिममा रहने अवस्थाले संगठन कमजोर बनेको उनको तर्क छ।

प्रदेश सदस्य आशिक गुरुङले कांग्रेसको संगठनलाई “मेकअप गरिएको टाउको तर कुहिएको ज्यान” को संज्ञा दिए। त्यस्तै, प्रदेश उपसभापति कल्पना तिवारीले भद्दा र ठूलो संरचनाले काम नगरेको भन्दै सानो, चुस्त समिति आवश्यक रहेको बताइन्।

नेताहरूका अनुसार वैदेशिक रोजगारीमा रहेका युवाहरूले परिवारलाई वैकल्पिक दलतर्फ प्रभावित गर्दा कांग्रेसको परम्परागत मताधार खस्किएको छ। नयाँ पुस्तासँग विचारगत दूरी बढ्नु पनि हारको अर्को कारण बनेको विश्लेषण गरिएको छ।

पर्वतका यमबहादुर मल्लले आन्तरिक कलह र अन्तर्घातलाई मुख्य दोष दिए भने अन्य नेताहरूले टिकट वितरणमा भएको त्रुटिले जित्ने सम्भावना गुमेको बताएका छन्। भ्रातृ संस्थाहरूमा लामो समयदेखि जारी तदर्थवादले संगठनलाई झन् कमजोर बनाएको आरोप पनि छ।

प्रदेशले अब १४ महिनापछि हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सुधारका प्रस्ताव केन्द्रमा पठाउने तयारी गरेको छ। प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछानेका अनुसार सबै सुझाव संकलन गरी केन्द्रमा पठाइनेछ।

पार्टीभित्रैबाट आएको सुझावअनुसार अब शेरबहादुर देउवा देखि गगन थापा सम्मका नेताहरूले बुथ तहबाटै चुनाव जित्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिइएको छ।

कमेन्ट गर्नुहोस्
Share: