
पोखरा । साहसिक पर्यटनको राजधानी मानिने पोखरा मा “खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप” को २१औँ संस्करण भव्य रूपमा सुरु भएको छ। नेपाल हवाई खेलकुद संस्था को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता चैत ७ गतेसम्म चल्नेछ।
प्रतियोगिताको उद्घाटन धनराज आचार्य ले गर्दै प्याराग्लाइडिङलाई पोखरेली पर्यटनको मेरुदण्डका रूपमा व्याख्या गरे। उनले अन्तर्राष्ट्रिय विमानस्थलका कारण प्रभावित भएको उडानलाई पुनः नियमित बनाउन विभिन्न चरणमा समाधानमुखी छलफल भइरहेको जानकारी दिए।
पोखरा आउने अधिकांश पर्यटकको पहिलो रोजाइ बनेको प्याराग्लाइडिङलाई अझ व्यवस्थित र सुरक्षित बनाउन व्यवसायीहरूलाई आग्रह गर्दै उनले सेवा गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिए। “पोखरा साहसिक पर्यटनकै कारण चिनिन्छ, यसको गरिमा जोगाउनु सबैको दायित्व हो,” उनले भने।
यसपटकको प्रतियोगितामा नेपालसहित ७ देशका ९० जना पाइलट सहभागी छन्, जसमा १४ महिला समावेश छन्। भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटाली र लेबनानका खेलाडीहरूको उपस्थिति प्रतियोगितालाई अन्तर्राष्ट्रिय बनाएको छ।
एक्युरेसी विधामा हुने प्रतिस्पर्धामा सराङकोट बाट उडान भरेका ग्लाइडरहरू फेवाताल किनारस्थित खपौदी क्षेत्रमा अवतरण गर्नेछन्।
पुरुषतर्फ विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्। महिला तथा समूह विधामा पनि आकर्षक पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ।


