
पोखरा। महिला र बालिकामाथि हुने हिंसा र बलात्कारविरुद्ध पोखरामा सडक नाटकसहित आवाज उठाइएको छ। टिम अल्फा नामक विद्यार्थी समूहले पृथ्वीचोक, पोखरा मा आयोजित कार्यक्रममार्फत समाजमा फैलिएको लैंगिक हिंसा र जघन्य अपराधप्रति विरोध प्रदर्शन गरेको हो।
कार्यक्रममा सहभागीहरूले कालो पहिरन र आँखामा कालो पट्टी बाँधेर सडक नाटक प्रस्तुत गर्दै पीडितका न्याय सुनिश्चित गर्न कडा कानुनी कारबाहीको माग राखेका थिए। समूहका सदस्य अखिल खरेल का अनुसार, देशभर भएका बलात्कारपछि हत्या र महिला-बालिकामाथि हुने हिंसाका घटनामा निष्पक्ष छानबिन र दोषीमाथि कठोर कारबाही आवश्यक रहेको छ।
कार्यक्रमकी संयोजक सुवानी पौडेल ले विगतमा सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछि हत्या जस्ता घटनाहरूले पीडितको न्याय सुनिश्चित गर्न अझ दबाब आवश्यक भएको बताइन्। उनले यो प्रदर्शन व्यक्तिगत घटनामा मात्र सीमित नभई समाजमा विद्यमान विकृति र महिला अस्तित्वमाथि उठेका सवालहरूको प्रतिनिधित्व गर्ने उद्देश्यले गरिएको स्पष्ट पारेकी छन्।
समूहले आगामी दिनमा पनि समाजमा लैंगिक हिंसा र असमानता विरुद्ध सचेतना फैलाउने, पीडितलाई न्याय दिलाउने र यस्ता घटना दोहोरिन नदिन निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। यो कार्यक्रमले पोखरामा मात्र नभई समाजका अन्य क्षेत्रहरूमा पनि लैंगिक हिंसा विरुद्ध सचेतनाको सन्देश फैलाउने प्रयासको सुरुवात गरेको मानिएको छ।
