वर्षाले चिप्लियो नारायणघाट-बुटवल सडक, राति ठूला गाडी सञ्चालनमा रोक

Share:

पोखरा। लगातारको वर्षाका कारण नारायणघाट-बुटवल सडक खण्डको पश्चिम भाग अत्यधिक चिप्लो बनेपछि रातिको समयमा ठूला मालवाहक सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ।

नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) ले सूचना जारी गर्दै चैत ६ गतेदेखि ८ गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला गाडी सञ्चालन नगर्न निर्देशन दिएको हो। यस अवधिमा बर्दघाट र दुम्किवास क्षेत्रमा नै सवारी रोकिने व्यवस्था गरिएको छ।

योजना कार्यालयका अनुसार निर्माणाधीन दुम्किवास-दाउन्ने-बर्दघाट खण्डमा रिजिड पेभमेन्ट तथा कलभर्ट निर्माण भइरहेको छ। तर, लगातारको वर्षाले सडक चिप्लो हुँदा ठूला गाडी चिप्लिने, अड्किने र जाम हुने समस्या बढेपछि यस्तो निर्णय लिनुपरेको हो।

जल तथा मौसम विज्ञान विभागले चैत ८ गतेसम्म हावाहुरी र मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिसकेको अवस्थामा सडक सुरक्षा चुनौती थपिएको कार्यालयले जनाएको छ। सूचना अनुसार बर्दघाटतर्फबाट आउने मालवाहक गाडीलाई त्रिवेणी चोक (टिसिएन चोक) मा र दुम्किवासतर्फ जाने गाडीलाई दुम्किवास बजारमै रोकिनेछ।

यद्यपि, साना सवारी साधन, यात्रुवाहक बस तथा आकस्मिक सेवाका सवारी साधनलाई प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।

सडकमा मर्मतसम्भारको काम पनि जारी रहेकाले अत्यावश्यक बाहेकका सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा सञ्चालित सासेक सडक सुधार आयोजना अन्तर्गत सडक विस्तार भइरहेको हो।

कमेन्ट गर्नुहोस्
Share: