पोखरा विश्वविद्यालय अस्पतालमा ‘ईसीएचएस’ सेवा सुरु, भूपू सैनिकलाई सहज स्वास्थ्य सुविधा

Share:

पोखरा। पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा भारतीय भूतपूर्व सैनिकका लागि लक्षित ‘भारतीय भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस)’ सेवा औपचारिक रूपमा सुरु गरिएको छ। यससँगै भारतीय सेनाबाट अवकाश प्राप्त भूपू सैनिक तथा उनीहरूका आश्रित परिवारले अब सोही अस्पतालबाट सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएका छन्।

शुक्रबार बिहान आयोजित एक कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिस्ट्रार अजय थापा र भारतीय राजदूतावास अन्तर्गत पेन्सन वितरण केन्द्र पोखराका इन्चार्ज कर्णेल चित्राञ्जल सावले संयुक्त रूपमा रिबन काट्दै ईसीएचएस काउन्टरको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै रजिस्ट्रार थापाले नयाँ सेवाले भूपू सैनिक समुदायलाई ठूलो राहत दिने विश्वास व्यक्त गरे। “ईसीएचएस सेवाले भारतीय सेनाबाट अवकाश प्राप्त सैनिक तथा उनीहरूका आश्रितलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेछ,” उनले भने। साथै, अस्पतालले सेवाग्राहीको अपेक्षा अनुसार उच्चस्तरीय सेवा दिने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा ईसीएचएस कार्यक्रमका प्रमुख मेजर डा. अश्विन नारायणकार, गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल केबी खत्री तथा विज्ञान तथा प्रविधि संकायका डीन बुद्धिराज जोशीले शुभकामना मन्तव्य व्यक्त गर्दै यस सेवाले भूपू सैनिकहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

सेवा सुरु भएसँगै पोखरा र आसपासका क्षेत्रका भारतीय सेनाका भूपू सैनिकहरूको अस्पतालमा उल्लेख्य उपस्थिति देखिएको थियो, जसले सेवाप्रतिको उत्साह झल्काएको छ। पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. सीपी आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विश्वविद्यालयका विभिन्न संकायका डीन, कार्यकारी परिषद्का सदस्य, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा नर्सिङ फ्याकल्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन स्टाफ नर्स अस्मिता खत्रीले गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: