कास्कीसहित बैशाख २ गतेदेखि देशभर आर्थिक गणना हुने, पोखरामा सचेतना कार्यक्रम सम्पन्न

Share:

पोखरा । आगामी बैशाख २ गतेदेखि कास्की सहित देशभर राष्ट्रिय आर्थिक गणना सुरु हुने भएको छ। सोही सन्दर्भमा राष्ट्रिय तथ्यांक कार्यालय कास्कीको आयोजनामा पोखरामा जिल्लास्तरीय सचेतना गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आर्थिक गणनाले देशभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलापको तथ्यांक संकलन, प्रशोधन र विश्लेषणमार्फत समग्र अर्थतन्त्रको यथार्थ चित्र प्रस्तुत गर्ने बताए। उनले यसले नीति निर्माण र विकासका सूचक निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा ऋषिराम सिग्देलले २०८३ बैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका विभिन्न पक्षबारे जानकारी गराउँदै सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताए। त्यस्तै, नन्दलाल सापकोटाले गणना कार्यका लागि गणक तथा सुपरिवेक्षकहरू प्रत्यक्ष रूपमा प्रतिष्ठानमा पुगेर विवरण संकलन गर्ने जानकारी दिए।

नवराज बरालले विश्वसनीय र भरपर्दो तथ्यांक राष्ट्र निर्माणको आधार भएकाले उत्कृष्ट व्यवस्थापन र कार्यसम्पादनमा जोड दिनुपर्ने धारणा राखे। कार्यक्रममा उद्योग, व्यवसाय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गोष्ठी लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्
Share: