भिमादमा पोखरेली स्रष्टाको पाइला: साहित्यसँगै पर्यटन प्रवर्द्धन

Share:

पोखरा । पोखरालाई कार्यथलो बनाएर सक्रिय कवि तथा साहित्यकारहरू तनहुँको भिमाद नगरपालिका पुगेर त्यहाँका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूको अवलोकन गरेका छन्। सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान र भिमाद नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न ‘भिमाद क्षेत्रमा ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको अवलोकन तथा साहित्यिक कार्यक्रम’ अन्तर्गत स्रष्टाहरूले स्थल अवलोकनसँगै पर्यटनको सम्भावना र महत्वबारे जानकारी लिएका हुन्।

कार्यक्रमको व्यवस्थापन सेतीकाली साहित्य संगम र जिदीबाराही टोल विकास संस्थाले गरेका थिए। कार्यक्रममा स्वागत गर्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले क्षेत्रका प्रमुख गन्तव्यहरू-सिद्ध गुफा, चमेरे गुफा, भिमबाँध, तीन सय वर्ष पुरानो शिवालय मन्दिर तथा ऐतिहासिक फलाम खानीबाट निर्मित झोलुङ्गे पुलको बारेमा जानकारी गराए। उनले भिमादमा प्रशस्त प्राकृतिक र ऐतिहासिक सम्पदा रहेको र तिनको पर्यटन प्रवर्द्धनमा नगरपालिका केन्द्रित रहेको बताए।

सिद्ध गुफा क्षेत्रमा आयोजित साहित्यिक कार्यक्रममा नारायण कैलाश सिग्देल, डा. विष्णुप्रसाद शर्मा, डा। भूमिराज बस्ताकोटी, बेदहरि तिमल्सिना, कमल पौडेल (अथक) लगायतका स्रष्टाहरूले कविता तथा विभिन्न विधाका रचना वाचन गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष सुरज पौडेलले हरेक महिना फरक-फरक पर्यटकीय गन्तव्यमा पुगेर साहित्यिक तथा अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। कार्यक्रम संयोजक अम्बिकाप्रसाद भट्टराईले यस्तो कार्यक्रमले भिमाद क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

कमेन्ट गर्नुहोस्
Share: