मध्यपूर्व तनावको असर: पोखरामा पर्यटक घटे, होटल-ट्रेकिङ बुकिङ धमाधम रद्द

Share:

पोखरा । मध्यपूर्वमा बढ्दो युद्ध तनावले नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पार्न थालेको छ। विशेषगरी पोखरामा दोस्रो मुख्य पर्यटकीय सिजनमै विदेशी पर्यटकको आगमन घट्दै गएको सरोकारवालाहरूले बताएका छन्।

अमेरिका, इजरायल र इरान बीच बढ्दो तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा युरोप र अमेरिकाबाट आउने पर्यटकहरू नेपाल आउन नसकेको व्यवसायीहरूको भनाइ छ। दुबई, कतार र साउदी अरेबिया जस्ता ट्रान्जिट हब प्रभावित हुँदा यात्रा नै अवरुद्ध भएको जनाइएको छ।

पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईका अनुसार पर्यटकहरूले धमाधम होटल, ट्राभल र ट्रेकिङ बुकिङ रद्द गरिरहेका छन्। “मध्यपूर्वको युद्धका कारण आउने पर्यटकहरू बीचमै डाइभर्ट हुने अवस्था आएको छ,” उनले भने।

होटल एसोसिएसन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी ले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमै अपेक्षित पर्यटक नआएको बताए। अमेरिकाले आफ्ना नागरिकलाई यात्रा सम्बन्धी सावधानी अपनाउन जारी गरेको एड्भाइजरीले पनि पर्यटक आगमन घटाएको उनको भनाइ छ।

पर्यटन व्यवसायी नेत्र पौडेलले इजरायल-अमेरिका–इरानबीचको द्वन्द्वका कारण अग्रिम बुकिङहरू समेत रद्द भइरहेको बताए। “यो सिजनमा जति पर्यटक हुनुपर्ने हो, त्यति देखिएको छैन,” उनले भने।

यद्यपि, भारतीय तथा आन्तरिक पर्यटकको आगमन भने सामान्य अवस्थामा रहेको व्यवसायीहरूले बताएका छन्। तर विदेशी पर्यटक घट्दा होटल, ट्राभल र ट्रेकिङ क्षेत्रमा चिन्ता थपिएको छ।

कोभिड-१९ पछि पुनः लयमा फर्किन थालेको पर्यटन क्षेत्र फेरि अन्तरराष्ट्रिय तनावका कारण प्रभावित हुने संकेत देखिएको छ।

सरोकारवालाहरूले दीर्घकालीन समाधानका लागि नेपाललाई वैकल्पिक तथा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न राज्यले रणनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: