
पोखरा । विश्व क्षयरोग दिवसका अवसरमा पोखरामा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। प्रादेशिक रोग नियन्त्रण केन्द्र, प्रादेशिक जनस्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका तथा साझेदार संस्थाहरूको संयुक्त आयोजनामा दिवस मनाइएको हो।
रामघाटस्थित प्रादेशिक रोग नियन्त्रण केन्द्रबाट सुरु भएको र्याली रानीपौवा, महेन्द्रपुल, चिप्लेढुंगा हुँदै मानवअधिकार चोकमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा क्षयरोगसम्बन्धी सडक नाटक प्रस्तुत गर्दै रोगको संक्रमण, उपचार र बिरामीप्रतिको व्यवहारबारे सचेतनामूलक सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रममा बोल्दै कृष्ण पाठकले गण्डकी प्रदेशमा क्षयरोग निर्मूल गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले सम्भावित जोखिम क्षेत्रमै पुगेर परीक्षण गर्ने र बिरामी भेटिए निशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए।
मन्त्री पाठकले सीमित स्रोतका बाबजुद प्रदेश सरकार क्षयरोग न्यूनीकरणमा सक्रिय रहेको उल्लेख गर्दै समयमै उपचार गरे यो रोग निको हुने बताए। लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा जाँच गराउन उनले सबैलाई आग्रह गरे।
तथ्यांकअनुसार, गण्डकी प्रदेशमा चालु आर्थिक वर्षमा १ हजार ४ सय ५३ जना क्षयरोगका बिरामी रहेका छन्, जसले यस रोगविरुद्ध अझ सशक्त अभियान आवश्यक रहेको देखाएको छ।
