
पोखरा । गण्डकी प्रदेश लोक सेवा आयोग मा रोजगारीका लागि अभूतपूर्व आकर्षण देखिएको छ। आयोगले हालसम्म ५ हजार ४ सय ४९ पदमा विज्ञापन खुलाउँदा ४ लाख ७३ हजारभन्दा बढी दरखास्त परेको तथ्यांक सार्वजनिक भएको हो।
आयोग सदस्य कल्पना लम्सालका अनुसार खुला, बढुवा, आन्तरिक र अन्तरतह गरी विभिन्न पदहरूमा आवेदनको बाढी नै आएको छ। सबैभन्दा धेरै आवेदन चौथो तहमा २ लाख ५२ हजारभन्दा बढी परेको छ भने पाँचौं तहमा १ लाख ६९ हजारभन्दा बढी आवेदन परेको छ।
महिलाको सहभागिता पनि उल्लेखनीय छ, २ लाखभन्दा बढी महिलाले आवेदन दिएका छन् भने पुरुष आवेदक करिब २ लाख ७० हजार छन्। प्रदेशगत रूपमा मधेश प्रदेश बाट सबैभन्दा धेरै १ लाखभन्दा बढी आवेदन परेको छ। त्यसपछि कर्णाली र गण्डकी प्रदेश रहेका छन्, जहाँ गण्डकीबाट अपेक्षाकृत कम आवेदन परेको देखिएको छ।
चाखलाग्दो कुरा-यति ठूलो आवेदन व्यवस्थापन गरिरहेको आयोग आफैं जनशक्ति अभावमा छ। ४९ दरबन्दी भए पनि ३३ जना मात्र कार्यरत छन्, विशेषगरी शिक्षा, सूचना प्रविधि र प्रशासनिक क्षेत्रमा अभाव रहेको बताइएको छ।
लम्सालका अनुसार समान तहमा सिफारिस हुने व्यवस्थाका कारण कर्मचारीले सेवा छाड्ने प्रवृत्ति बढ्दो छ। अदालतमा मुद्दा, कानुनी अस्पष्टता र फरक–फरक आदेशले काममा थप जटिलता ल्याएको पनि आयोगको भनाइ छ।
कार्यक्रममा डिल्लीराज भट्टले कर्मचारीतन्त्रलाई जनमुखी र प्रभावकारी बनाउन जोड दिँदै सेवा सहज नहुँदासम्म नागरिक सन्तुष्ट नहुने बताए। त्यस्तै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले आयोगले दक्ष जनशक्ति छनोटमार्फत सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाएको उल्लेख गरे।
आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आगामी दिनमा परीक्षा प्रणाली सुधार, पाठ्यक्रम परिमार्जन र समन्वय विस्तार गर्ने योजना अघि सारे।
