
पोखरा। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनबाट नव-निर्वाचित वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद शेरचनलाई गण्डकी प्रदेश टेनिस संघले विशेष सम्मानसहित स्वागत गरेको छ। पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा बिहीबार आयोजित कार्यक्रममा शेरचनसँगै उपाध्यक्ष तथा खेलकुद विभाग प्रमुख मनोज गोर्खालीलाई पनि स्वागत गरिएको थियो।
टेनिस विकासमा योगदान पुर्याउँदै आएका शेरचन संघले सञ्चालन गरिरहेको ग्रासरुट टेनिस कार्यक्रमका महत्वपूर्ण सहयोगीसमेत हुन्। सम्मान ग्रहणपछि उनले गण्डकीमा टेनिसको विकास यात्रासँग जोडिन पाउनु आफ्नो लागि गर्वको विषय भएको बताए।
“विदेशमा बसेर पनि देशसँग जोडिन पाउनु ठूलो अवसर हो,” उनले भने, “दुई वर्षअघि ग्रो जुनियर टेनिस कार्यक्रमबारे थाहा पाएपछि यो अभियानले मलाई निकै प्रेरित गर्यो। यहाँ भइरहेको प्रयास साँच्चै प्रशंसनीय छ।”
शेरचनले आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएको टोली अझ प्रभावकारी रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्दै खेलकुद विकासमा पुलको भूमिका खेल्ने प्रतिबद्धता जनाए।
गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले शेरचनलाई सफल कार्यकालको शुभकामना दिँदै संघ दीर्घकालीन योजनासहित अघि बढिरहेको जानकारी दिए। उनका अनुसार ग्रो टेनिस कार्यक्रमअन्तर्गत ११ जना र जुनियर प्रशिक्षणमा ३० जना गरी ४१ जना बालबालिका नियमित अभ्यासमा संलग्न छन्।
“शेरचनजस्ता सहयोगी व्यक्तित्वका कारण हाम्रो योजना कार्यान्वयन गर्न सहज भएको छ,” कायस्थले भने, “यहाँ उत्पादन हुने खेलाडीलाई आत्मनिर्भर बनाउँदै नेपाली टेनिसको भविष्य उज्ज्वल बनाउन सबैको साथ आवश्यक छ।”
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले टेनिससहित समग्र खेलकुद विकासका लागि सहकार्य अझ सुदृढ बनाउने आवश्यकता औंल्याएका थिए।
