डाउन सिन्ड्रोम भएका बालबालिकाको हेरचाहमा जोड: ग्राण्डी हस्पिटल र एवनको पहलमा अन्तरक्रिया कार्यक्रम

Share:

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै ग्राण्डी इन्टरनेशनल हस्पिटलले डाउन सिन्ड्रोम भएका बालबालिकाको हेरचाह, स्वास्थ्य र शिक्षासम्बन्धी महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपालका सक्रिय महिला (एवन) र डाउन सिन्ड्रोम सोसाइटी नेपाल को सहकार्य रहेको थियो भने अष्ट्रेलियन ब्राण्ड आईविवीको सहयोग रहेको थियो।

कार्यक्रममा कूटनीतिक नियोगका प्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, अभिभावक तथा डाउन सिन्ड्रोम भएका बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्तो अवस्थाका बालबालिकाको समग्र विकासका लागि साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा बोल्दै ग्राण्डी हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले परिवारभित्रको माया, सहभागिता र जीवनोपयोगी सीप (लाइफ स्किल) विकासमा ध्यान दिएमा डाउन सिन्ड्रोम भएका बालबालिकामा सकारात्मक परिवर्तन सम्भव हुने बताए।

एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठले समाजमा अझै पनि चेतनाको अभावका कारण अभिभावक, विशेषगरी आमाहरूले पीडा भोग्नुपरेको उल्लेख गरिन्। उनले भनिन्, “हरेक व्यक्ति फरक हुन्छ, यही विविधताले संसार सुन्दर बनाउँछ। डाउन सिन्ड्रोम भएका बालबालिकाको फरक क्षमतालाई चिनेर उनीहरूलाई अवसर दिनुपर्छ।”

त्यस्तै, डाउन सिन्ड्रोम सोसाइटीकी अध्यक्ष शिला थापाले आफ्नै अनुभव सुनाउँदै यस्तो अवस्था भएका बालबालिका र अभिभावकलाई सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गरेको बताइन्।

विश्व स्वास्थ्य तथ्यांकअनुसार प्रत्येक ७०० जन्ममा एक बालबालिका डाउन सिन्ड्रोमसहित जन्मिने भए पनि आवश्यक पूर्वाधार, सेवा र राज्यको लगानी अझै अपर्याप्त रहेको औँल्याइएको छ। यसका कारण यस्ता बालबालिका र उनीहरूका परिवार सामाजिक विभेदको सामना गर्न बाध्य छन्।

आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्युटी कुमारी सर्राफले कार्यक्रमप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता पहलमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाइन्।

कमेन्ट गर्नुहोस्
Share: