
पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो ७१औँ स्थापना दिवसको अवसर पारेर विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। चैत १६ गते आयोजना हुने विशेष कार्यक्रममा अग्रज पत्रकार र संस्थालाई सम्मान गरिने भएको हो।
शाखाले बर्सेनि प्रदान गर्दै आएको ‘पोखरा पत्रकारिता सम्मान’ अन्तर्गत वर्ष २०८१ का लागि वरिष्ठ पत्रकार राजबहादुर गुरुङ र २०८२ का लागि सहारा क्लब लाई सम्मान गर्ने निर्णय गरिएको छ। तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय गुरुङ हाल यूनाइटेड खबर अनलाइनसँग आबद्ध छन्।
उक्त सम्मानअन्तर्गत नगद रु. ५० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र प्रदान गरिनेछ। सम्मान छनोट समितिमा अग्रज पत्रकार कुसुमकेशव पराजुली, पुण्य पौडेल र गंगाधर पराजुली रहेका थिए।
यसैगरी, ‘स्व. जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार’ वर्ष २०८१ का लागि पत्रकार फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ का लागि एकराज गिरीलाई प्रदान गरिने भएको छ। अधिकारी हाल गोरखापत्र दैनिकमा र गिरी सफल न्यूजमा आवद्ध छन्।
उक्त पुरस्कारअन्तर्गत नगद रु. २५ हजार ५ सय ५५ र सम्मानपत्र प्रदान गरिनेछ। पुरस्कार छनोट समितिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश का अध्यक्ष रमेश पौडेलसहित पत्रकार रुद्र श्रीस मगर र भीम थापा रहेका थिए।
