एउटै कक्षाका गुरु र चेला एकैपटक मन्त्री बनेपछि…

294
0
Share:

काठमाडौं । नेपाली राजनीतिमा नयाँ अध्याय सुरु भएको छ। बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार केवल सत्ताको हस्तान्तरण होइन, सोच, शैली र संरचनाको परिवर्तनको सशक्त संकेत बनेर उदाएको छ। ३६ वर्षकै उमेरमा प्रधानमन्त्री बन्न सफल बालेन बहुदलीय व्यवस्थापछि सबैभन्दा कम उमेरका कार्यकारी प्रमुखका रूपमा स्थापित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी को दुईतिहाइ नजिकको जनमतसँग बनेको सरकारले क्याबिनेट गठनमै ‘नयाँ अनुहार, नयाँ ऊर्जा’ को सन्देश दिएको छ। युवा, विज्ञ र समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै महिलाको न्यूनतम ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्नु सरकारको प्रारम्भिक सन्देश बनेको छ।

तर, यो क्याबिनेटको सबैभन्दा चासोको विषय बनेको छ-गुरु र चेला एकैपटक मन्त्री बन्नु। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र शिक्षा मन्त्री सस्मित पोखरेल बीचको सम्बन्ध केवल सहकर्मीको होइन, कक्षाकोठामा स्थापित गुरु-चेलाको हो। त्रिभुवन विश्वविद्यालय मा सञ्चालन हुँदै आएको सार्वजनिक नीति, शासन व भ्रष्टाचार विरोधी अध्ययन कार्यक्रममा सस्मित विद्यार्थीका रूपमा अध्ययनरत छन् भने डा. तिमिल्सिना त्यही विषयका अध्यापक हुन्। अर्थात्, कक्षाकोठामा ज्ञान दिने गुरु र सिक्ने चेला अहिले राज्य सञ्चालनको उच्च तहमा सँगै निर्णय लिने भूमिकामा पुगेका छन्।

यो केवल संयोग मात्र होइन-शासनशैलीमा सम्भावित ‘प्रयोग’ को संकेत पनि हो। भ्रष्टाचारविरुद्ध कडा नीति लिने प्रतिबद्धता दोहोर्याइरहेको सरकारमा भ्रष्टाचार विरोधी अध्ययन पढाउने र पढ्ने दुवै पात्र मन्त्री बनेपछि उनीहरूको निर्णय र कार्यक्षमताले कस्तो प्रभाव पार्छ भन्नेमा व्यापक चासो बढेको छ। उक्त कार्यक्रममा जेनजी आन्दोलनबाट उदाएका युवा नेता, पत्रकार र प्रशासकहरूको पनि संलग्नता रहेको बताइन्छ। यसले यो समूहलाई भविष्यको नीतिनिर्माणको ‘थिंक ट्यांक’ का रूपमा समेत हेरिन थालेको छ।

यसरी हेर्दा, बालेन क्याबिनेट केवल नयाँ अनुहारहरूको जमात मात्र होइन-यो शिक्षा, सिद्धान्त र शासनबीचको प्रत्यक्ष जोडिएको एउटा ‘लाइभ प्रयोगशाला’ जस्तो देखिन्छ। अब सबैको ध्यान एउटै प्रश्नमा केन्द्रित छ, कक्षाकोठामा सिकिएको सिद्धान्त सत्ता सञ्चालनमा कति प्रभावकारी रूपमा रूपान्तरण हुन्छ ?

कमेन्ट गर्नुहोस्
Share: