
काठमाडौं । मुलुकको राजनीतिक माहोल एकाएक तातिएको छ। बालेन सरकारको पहिलो निर्णयसँगै गृहमन्त्री सुधन गुरुङ सुरक्षा संयन्त्रसहित एक्सन मोडमा उत्रिएका छन्।
गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री गुरुङले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल सँग झण्डै दुई घण्टादेखि बन्द कोठामा गहन छलफल गरिरहेका छन्। छलफललाई उच्च प्राथमिकताका साथ गोप्य राखिएको बताइएको छ।
स्रोतका अनुसार बैठकको मुख्य एजेन्डा जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन र त्यसअन्तर्गत हुने ‘तत्काल एक्सन’ रहेको छ। मन्त्रिपरिषद्ले यसअघि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक सहित चार जनामाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ।
उक्त निर्णयसँगै आजै पक्राउ प्रक्रिया अघि बढ्न सक्ने संकेत देखिएको छ। यद्यपि यसबारे आधिकारिक पुष्टि भने अझै भइसकेको छैन। तर, सुरक्षा निकायहरू उच्च सतर्कतामा राखिएको र आवश्यक तयारी पूरा भइसकेको स्रोतको दाबी छ।
गृहमन्त्री गुरुङले केही दिनअघि नै “म धेरै बोल्दिन, एक्सनमा जान्छु” भन्दै सन्देश दिएका थिए। उनको यही अभिव्यक्तिले अहिलेको घटनाक्रमलाई अझ चासोपूर्ण बनाएको छ।
