पोखरा-लुम्बिनी-चितवन जोड्ने ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा: पर्यटन प्रवर्द्धनमा नयाँ बहस

Share:

पोखरा । पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटन विकास गर्ने ‘सिल्भर ट्रयाङ्गल’ अवधारणाबारे पोखरामा छलफल भएको छ। होटल संघ पोखरा नेपाल ले नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा आइतबार आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै यस्तो अवधारणा अघि सारिएको हो।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले विगतमा चर्चित ‘गोल्डेन ट्रयाङ्गल’ (काठमाडौं–पोखरा–चितवन) को सन्दर्भ स्मरण गराउँदै अब पोखरा, लुम्बिनी र चितवनलाई जोडेर नयाँ पर्यटन सर्किट विकास गर्न सकिने बताए। उनले पोखरालाई पर्यटनको मुख्य ‘हब’ का रूपमा विकास गर्दै तीनै क्षेत्रबीच पर्यटन तथा व्यवसायिक आदानप्रदान बढाउनुपर्नेमा जोड दिए।

त्यसैगरी भरतराज पराजुलीले द्वन्द्वकालपछि पोखरामा पर्यटक घटेपछि सुरु गरिएको ‘जाउँ है पोखरा’ अभियानले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा पनि उत्तिकै प्रभावकारी हुन सक्ने बताए। उनले बुटवल-पोखरा सडकलाई फास्ट ट्रयाकका रूपमा विकास गर्न सके लुम्बिनी र पोखराको पर्यटनमा थप गति आउने धारणा राखे।

कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले पूर्वदेखि पश्चिमसम्म पर्यटन प्रवर्द्धनका अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै लुम्बिनी क्षेत्रका सञ्चारकर्मीको पोखरा भ्रमण सकारात्मक संकेत भएको बताए।

उनले आगामी २१ औं फेवा नववर्ष महोत्सव (चैत २९ देखि वैशाख १ सम्म) मा सहभागी हुने पर्यटकलाई संघअन्तर्गतका होटलहरूले विशेष छुट प्रदान गर्ने जानकारी पनि दिए।

कार्यक्रममा कमल रायमाझी, नबराज अधिकारी लगायतले पनि पर्यटन सहकार्यको आवश्यकता औंल्याएका थिए। पर्यटनका प्रमुख गन्तव्यहरूलाई एउटै सञ्जालमा जोड्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले अघि सारिएको ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा कार्यान्वयनमा आएमा देशको पर्यटन उद्योगमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: