हवाई इन्धनको मूल्यमा वृद्धि, निगम ५ अर्ब घाटामा 

Share:

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको असरले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लाग्दा नेपाल आयल निगम लिमिटेड गम्भीर आर्थिक दबाबमा परेको छ। निगमले पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटा व्यहोरेको जनाएको छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशन बाट प्राप्त नयाँ खरिद मूल्य अत्यधिक बढेको छ। पेट्रोलमा प्रतिलिटर रु. ४१.६०, डिजेलमा रु. ९४.९३, हवाई इन्धनमा रु. १२३.८० तथा एलपी ग्यासमा प्रति सिलिन्डर रु. १९०.३६ ले मूल्य वृद्धि भएको छ।

यद्यपि उपभोक्तालाई राहत दिन निगमले पेट्रोल, डिजेल र ग्यासको खुद्रा मूल्य यथावत राखेको छ। मूल्य समायोजन गर्न नसक्दा निगमले पेट्रोलमा प्रतिलिटर रु. ४७.१२, डिजेलमा रु. १३३.४५ र ग्यासमा प्रति सिलिन्डर रु. ४१६.३७ घाटा बेहोर्दै आएको छ।

हालको अवस्थालाई हेर्दा निगमको मासिक घाटा १३ अर्ब २१ करोड रुपैयाँ नाघ्ने प्रक्षेपण गरिएको छ। समयमै भुक्तानी गर्न नसक्दा आपूर्ति व्यवस्थापनमा समेत असर पर्ने खतरा बढेको निगमले जनाएको छ।

यसैबीच, निगम सञ्चालक समितिको निर्णयअनुसार हवाई इन्धनको मूल्य भने उल्लेख्य रूपमा बढाइएको छ। आन्तरिकतर्फ प्रतिलिटर रु. १२४ ले बढाएर रु. २५१ कायम गरिएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रति किलो लिटर ८१९ अमेरिकी डलर ले वृद्धि गरिएको छ।

निगमले यस्तो विषम परिस्थितिमा सबै उपभोक्तालाई पेट्रोलियम पदार्थको मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: