
पोखरा । अवैध ढुङ्गा चोरी निकासीविरुद्ध कडाइ गर्दै जिल्ला प्रहरी कार्यालय कास्की ले बुधबार ठूला कारबाही गरेको छ। पोखरा महानगरपालिका-१९ चितेपानी क्षेत्रबाट कटपिस ढुङ्गा बोकेका दुई वटा बोलेरो जिप नियन्त्रणमा लिइएका छन्।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेका ग ३ च ४१६३ र ग २ च २५९ नम्बरका जिप रोकेको थियो। जाँचका क्रममा ती सवारी साधनमा लोड गरिएका कटपिस ढुङ्गा फेला परे पनि ढुवानीका लागि आवश्यक कुनै पनि आधिकारिक कागजात नभेटिएको प्रहरीले जनाएको छ।
सूचना अधिकारी हरिबहादुर बस्नेत का अनुसार कागजातबिनै ढुङ्गा ओसारपसार भइरहेको पुष्टि भएपछि दुवै जिप नियन्त्रणमा लिइएको हो। “गोप्य सूचनाको आधारमा गरिएको चेकजाँचमा अवैध ढुङ्गा फेला परेको छ,” उनले बताए।
प्रहरीले बरामद ढुङ्गासहित दुवै बोलेरो जिपलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुनः पोखरा महानगरपालिका को कार्यालयमा पठाएको जनाएको छ।
यस घटनाले पोखरामा प्राकृतिक स्रोतको अवैध दोहन अझै रोकिएको छैन भन्ने संकेत दिएको छ भने स्थानीय तह र सुरक्षाकर्मीबीच समन्वय थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।
