पोखराका गार्मेन्ट व्यवसायीलाई अभिमुखीकरण तालिम

Share:

पोखरा । हस्तकला तथा गार्मेन्ट व्यवसायलाई समयअनुसार प्रतिस्पर्धी बनाउने उद्देश्यसहित इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराले प्रभावकारी अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिका सँगको सहकार्यमा आयोजित तालिम तनहुँको भानु नगरपालिका-९ चितीखोलास्थित ग्रिन हिमालय फार्म स्टेमा सम्पन्न भएको हो, जहाँ ४० जना व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै मणिराज लामिछानेले नेपाल आउने पर्यटकहरूले हस्तनिर्मित सामग्रीलाई विशेष प्राथमिकता दिने भएकाले यस्ता उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। उनले पोखरालाई पर्यटनको राजधानीका रूपमा उल्लेख गर्दै पर्यटक लक्षित उत्पादन विकास अपरिहार्य रहेको धारणा राखे।

त्यसैगरी मनहर कडरिया ले बदलिँदो प्रविधियुक्त समाजमा व्यवसायलाई टिकाउन डिजिटल मार्केटिङ अपरिहार्य भएको उल्लेख गर्दै तालिमबाट सिकेका सीप व्यवहारमा लागू गर्न आग्रह गरे।

एगाका अध्यक्ष गोकर्ण लम्सालले सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित तालिम आयोजना गरिएको जानकारी दिए। कार्यक्रम उनको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव माया सुवेदी ले गरेकी थिइन्। स्वागत मन्तव्य उपाध्यक्ष गीता ढकाल पौडेल ले राखेकी थिइन् भने कार्यक्रमबारे सहसचिव सुरेन्द्र पौडेल ले प्रकाश पारे।

तालिममा पर्यटन विज्ञ दीपेन्द्र पहारी ले डिजिटल मार्केटिङ, ग्राहक पहिचान र डेलिभरी व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए भने सीता पौडेल ले तनाव व्यवस्थापनसम्बन्धी ज्ञान बाँडेकी थिइन्।

कार्यक्रममा एगाका संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्व अध्यक्षहरू चिरञ्जिवी पोखरेल, कृष्णकुमार श्रेष्ठ, जीवनाथ गौतम, विश्वराज पोखरेल लगायतको उपस्थिति रहेको थियो।

तालिमसँगै सहभागीहरूले भानु नगरपालिका-९ चितीखोलास्थित कडरिया एकीकृत कृषि फर्म र नक्षत्र वाटिका जस्ता स्थलहरूको अवलोकन गर्दै व्यावहारिक अनुभवसमेत हासिल गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: