
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ‘दशौं पोखरा स्पोर्ट्स अवार्ड २०८२’ अन्तर्गतको निकै प्रतिक्षित ‘पिपल्स च्वाइस अवार्ड’ विधाका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको छ। सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बीच आयोजकले मनोनयनमा परेका खेलाडीहरूको नाम घोषणा गरेको हो। मनोनयनमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई/आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा छन् । वर्षभरिको प्रदर्शनका आधारमा चयन गरिएका यी पाँच खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले बताए ।
यसको विजेता अनलाइन भोटिङमार्फत घोषणा गरिनेछ । जसका लागि खल्ती एपमार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउनेछन् । जसको सबैभन्दा बढी भोट आउँछ उही विजेता हुनेछ । मनोनयनमा परेका खेलाडीहरूका लागि सोमबारबाट भोटिङ सुरु भएको छ । आफूलाई मन परेको खेलाडीलाई खल्ती एपमार्फत भोटिङ गर्न सकिने छ भने सोमबारबाट सुरु भएको भोटिङ वैशाख १७ गते राति १२ बजेसम्म खुला रहने छ । अवार्ड कार्यक्रम आगामी वैशाख १८ गते पोखरामा हुनेछ ।
सो अवसरमा बोल्दै ‘पिपल्स च्वाइस अवार्ड’ का प्रायोजक गुरुङ गहना घर प्रालिका सञ्चालक सीमा गुरुङले खेलाडीलाई प्रोत्साहन प्रदान गर्ने गरी आयोजना गरेको पोखरा स्पोर्ट्स अवार्डमा गुरुङ गहना घर जोडिन पाउँदा खुसी लागेको बताइन् । गुरुङले आफूले खेलाडीहरूको प्रोत्साहनका लागि आगामी दिनमा समेत नेपाल खेलकुद पत्रकार मञ्चसँग मिलेर साथ र सहयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् । यो विधाको विजेतालाई टिभीएस एनट्रक स्कुटर प्रदान गरिनेछ ।
त्यस्तै आइएमई खल्ती लिमिटेडका गण्डकी प्रदेशका इन्चार्ज एण्डिज बस्नेतले मनोनयनमा परेका खेलाडीहरूलाई खल्ती एपमार्फत आजैदेखि भोटिङ खुला गरिएको बताए । खेलकुदको क्षेत्रमा प्रदेशमै ठूलो कार्यक्रम आयोजना गर्ने नेपाल खेलकुद पत्रकार मञ्चसँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको उनको भनाइ थियो । मञ्चका महासचिव परशुराम शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य विनय थापाले पनि बोलेका थिए ।
पोखरा स्पोर्ट्स अवार्डमा ‘पिपल्स च्वाइस अवार्ड’ सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार, वर्ष उत्कृष्ट खेल संघसंस्था अवार्ड गरी आठ विधामा अवार्ड प्रदान गरिँदै छ । उक्त अवार्ड खेलाडी सम्मानमा गण्डकीकै ठूलो इभेन्ट हो ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका, रूपा गाउँपालिका, गुरुङ गहना घर प्रालि, आइएमई खल्ती लिमिटेड लगायतको सहयोग रहने छ । अवार्ड सफल पार्न विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको मञ्चले जनाएको छ ।
