
पोखरा । गण्डकी प्रदेश सरकारद्वारा स्थापित गण्डकी विश्वविद्यालयले नेपालका अन्य प्रचलित विश्वविद्यालयभन्दा भिन्न र विशिष्ट शैलीमा आफ्नो पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ। राजनीतिक हस्तक्षेपबाट टाढा राख्ने उद्देश्यले प्रधानमन्त्री वा मन्त्रीहरू कुलपति नहुने र न्यासिक परिषद् बाट सञ्चालित यस विश्वविद्यालयले आफ्नो पहिलो ब्याचका विद्यार्थीलाई दीक्षित गरेको हो।
समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उच्च शिक्षापछि ठूलो संख्यामा युवाहरू विदेश पलायन हुनु राष्ट्रका लागि चिन्ताको विषय भएको बताए। उनले अबको शिक्षा प्रणाली केवल सैद्धान्तिक मात्र नभएर उद्योग र व्यवसायसँग जोडिएको हुनुपर्नेमा जोड दिए। मुख्यमन्त्री पाण्डेले भने, “वैज्ञानिक अनुसन्धान, प्रविधिको प्रयोग र उत्पादनसँग जोडिएको शिक्षाले मात्र देशको आर्थिक विकास सम्भव छ।”
विशिष्ट अतिथि एवं शिक्षाविद् प्राडा केदारभक्त माथेमाले बदलिँदो विश्व परिवेश अनुसार शिक्षाको स्वरूप परिवर्तन गर्नुपर्ने सुझाव दिए। उनले बजारको माग अनुसार पाठ्यक्रममा कृत्रिम बौद्धिकता र अनुसन्धानमुखी विषयहरू समेट्नुपर्ने बताए। विद्यार्थीहरूलाई जानकारी मात्र दिने भन्दा पनि उनीहरूमा सोच्ने, विश्लेषण गर्ने र समस्या समाधान गर्ने क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए।
विश्वविद्यालयका कुलपति इन्द्रप्रसाद तिवारीले गण्डकी विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले समुदायमा आधारित अध्ययन र सरकारी निकायसँगको सहकार्यलाई प्राथमिकता दिइने उल्लेख गरे। यस्तै, न्यासिक परिषद्का अध्यक्ष कैलाशनाथ प्याकुरेलले भौतिक संरचनाको निर्माण सम्पन्न भइसकेकाले अब संस्थागत सुदृढीकरण र गुणस्तरीय शिक्षामा केन्द्रित हुने प्रतिबद्धता जनाए।
नेपालका अन्य विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने परम्परा छ, तर गण्डकी विश्वविद्यालयमा राजनीतिक नेतृत्व नरहने स्वायत्त संरचना छ। दीक्षान्त समारोहमा समेत प्रधानमन्त्रीको अनिवार्य उपस्थितिको मानकलाई तोड्दै प्राज्ञिक र व्यवसायिक व्यक्तित्वहरूको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिएको थियो। यसले नेपाली उच्च शिक्षाको क्षेत्रमा एउटा नयाँ र सकारात्मक नजिर स्थापना गरेको छ।
